काठमाडौं । पाकिस्तानले रुससँग छूट दरमा किनेको सस्तो कच्चा तेल पाकिस्तान आइपुगेको छ । सोमबार कराँची बन्दरगाहमा तेल अनलोड भएको प्रधानमन्त्री शेहबाज शरिफले भनेका छन् । अहिले पाकिस्तानले चरम डलर अभावको सामना गरिरहेको छ । देशभर ऊर्जासंकट समेत उत्तकै छ ।
गएको वर्षको शुरुमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका र यूरोपेली देशहरुले कठोर खालको आर्थिक प्रतिबन्धहरु लगाएपछि रुसलाई कच्चा तेल कहाँ बेचु कसलाई बेचु भइरहेको छ । पाकिस्तान पनि आर्थिक अवस्था खस्किँदै गएर चरम ऊर्जा अभावको अवस्थामा पाकिस्तानले रुससंग तेल खरिद गरेको हो । गत मे महीनमा पाकिस्तान र मस्कोबीच पेट्रोलियम प्रडक्ट किन्ने सम्झौता भएको थियो ।
अहिले पाकिस्तानको डलर सञ्चिति डरै लाग्ने गरी न्यून स्तरमा रहेकाले यसको भुक्तानी ‘मित्रदेश’हरुको मुद्रामा गर्ने बताइएको छ । रुसले पनि प्रतिबन्धबाट जोगिन डलरमा भुक्तानी लिइरहेको छैन । पाकिस्तानमा रुसबाट कच्चा तेल आएको यो पहिलो पटक हो ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार १ लाख मेट्रिक टन बराबरको कच्चा तेलको कार्गो एक महीना अघि नै हिडेको थियो । कराँची पठाउनु अघि यसलाई ओमानमा दुुई साना जहाजमा राखेर पठाइएको थियो । पाकिस्तानले खपत हुने पेट्रोलियम प्रडक्टमध्ये ८४ प्रतिशत आयात गर्छ । इन्धनको लागि यो खाडी राष्ट्रहरुमाथि निर्भर रहँदै आएको थियो ।
बहुपक्षीय कर्जादाता निकाय ‘अन्तरराष्ट्रिय मुद्रा कोष’ (आईएमएफ)को वित्तीय उद्दारबापतको एउटा किस्ता महिनौंदेखि अल्झिएर बसेको छ । खस्किँदो आर्थिक अवस्थाबीच आकाशिएको महँगी, डलरको तुलनामा रुपयाको भाउमा आएको पहिरो र खुम्चिदै गइरहेको डलर सञ्चितिका कारण पाकिस्तान अहिले ऋणको साँवा ब्याज नै तिर्न नसक्ने स्थितिमा पुगेको छ । एजेन्सी