म्याग्दीका हिमाल आरोहणका लागि आउन थाले आरोही

असोज १, म्याग्दी । म्याग्दीस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल शुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् ।  सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् ।  ‘बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्’, शेरचनले भने, ‘हिमालयन र डोल्मा टे«कमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौंबाट आउने तयारीमा छन् ।’ जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट टे«कबाट आएकी माया शेर्पाले बताए । उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ ।  ‘धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्’, उनले भने, ‘यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।’ सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो । त्रियासी वर्षमा प्रवेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आएका छन् । उनले गत यामसहित ११आँै पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरेको थियो ।  ४० जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर रू. ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जानकारी दिएको छ । शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस  

सम्बन्धित सामग्री

मनास्लु चढ्न सामागाउँमा आरोही

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्पप्रायः रहेको मनास्लु क्षेत्रमा पाँच महिनापछि चहलपहल बढ्न थालेको छ । यति बेला मनास्लु हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहण गर्न आएका पर्वतारोही सामागाउँ क्षेत्रमा खचाखच रहेको चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर लामाले बताए ।