काठमाडौं (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका थप ४ अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ ।
बैंकले प्युठानको भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, बाँकेको महादेवपुरी स्वास्थ्य चौकी, बर्दियाको बर्दिया जिल्ला अस्पताल र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयलाई राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै बनाएको बेबी वार्मर उपलब्ध गराएको हो ।
अस्पतालमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारी, सम्बन्धित स्वास्थ्य संस्थाका अधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमाm सो बेबी वार्मर औपचारिक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम दिइएको थियो ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सम्बन्धित स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउनेहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । बैंकले हालै परवानीपुरको लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौंडाको हेटौंडा अस्पताल, फापरबारीको बेतिनी सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुरको चन्द्रनिगाहपुर अस्पताल र सुनसरीको इनरुवा अस्पताललाई एक–एक थान बेबी वार्मर प्रदान गरेको थियो ।