म्याग्दी (अस) । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्डमा प्रवेश बन्द गर्ने निर्णय भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्डमा सर्वसाधारणको प्रवेश बन्द गर्ने निर्णय गरेको हो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भुरुङ तातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायत ठाउँमा रहेका तातोपानीका कुण्डहरूमा प्रवेश बन्द हुने भएको छ । साथै जिल्ला प्रशासन कार्यालयले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जनाभन्दा बढी भेला नहुन, जिमखाना, कभर्ड हल र योग केन्द्रहरू पनि बन्द गराउन आदेश जारी गरेको छ । यसअघि बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउनेगरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’बन्दै जान थालेको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा समेत संक्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।