कक्षा कोठामै मुर्छा पर्छन् विद्यार्थी, पत्ता लागेन रोग

संखुवासभा : पाँचखपन नगरपालिका–८ चुङखुरुङमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ। दैनिक १५ देखि २० जना विद्यार्थी मुर्छा पर्ने, बेहोस हुने, आत्तिने, कराउने गरेको र कतिपय विद्यार्थी आउन छाडेको प्रधानाध्यपक थिरबहादुर राईले बताए। चार महिनादेखि यस्तो समस्य...

सम्बन्धित सामग्री

आधुनिक होइन, दिगो र रैथाने कृषिको खाँचो छ

जीवनमा गरेका काम, हासिल गरेका सफलता र जोडिएका सम्बन्धले मानिसको परिचय पनि थपिँदै जान्छ । यस्तै अनेकौं परिचयबाट चिनिने व्यक्ति हुन् आङतेम्बा शेर्पा । हुन पनि ६० वर्षे उमेरमा उनी कहिले पर्यटकको भरिया, पर्वतारोही त कहिले मोडलसम्म बने । यस्तै आविष्कारक, लेखक र पर्यटन व्यवसायी तथा कृषि अभियन्ताको परिचय पनि बनाए । कक्षा ३ सम्मको औपचारिक शिक्षापछि पर्यटकको भारी बोक्न थालेका शेर्पाले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडल तथा ब्रान्ड एम्बासडरको भूमिका समेत निर्वाह गरेका छन् । त्यति मात्र होइन, अमेरिकामा पानीजहाज, लुगा तथा हेलिकोप्टर कम्पनीको विज्ञापनमा समेत उनले मोडलिङ गरिसकेका छन् । पछिल्लो समय भने उनको व्यस्तता पर्यटन व्यवसाय, कृषि तथा किताब लेखनमा बढेको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ छेप्लु (तत्कालीन सगरमाथा अञ्चल, सोलुखुम्बु, चौरीखर्क गाविस–७) मा जन्मिएर संसारका थुप्रै मुलुकमा विभिन्न काम गरिसकेका शेर्पासँग उनको जीवन संघर्ष, उतारचढाव र अनुभवबारे आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्काले गरेको कुराकानीको सम्पादित अंश :  तपाईंले विदेशी पर्यटकको भारी बोक्ने कामदेखि पर्वतारोहण, उद्योग, व्यवसाय सञ्चालन, वातावरण संरक्षण तथा स्वीस घडीको मोडलिङसम्मको काम गरिसक्नु भएको छ । खासमा तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ? संसारमा झन्डै ८ अर्ब मान्छेको बसोवास छ । सबै फरकफरक खालका छन् । तर सबैले श्वास फेर्छन् । म पनि श्वास लिएरै पृथ्वीमा आएको एउटा मानव हुँ । पृथ्वीमा मानव भएर आइसकेपछि केही न केही काम गर्नुपर्ने हुन्छ । प्रकृतिको नियम अनुसार मैले पृथ्वीमा जन्म लिइसकेपछि विभिन्न काम गरेको हुँ । अहिले म आविष्कारक पनि भएको छु । मानिसलाई पँखेटा बनाएर उड्न मिल्ने प्याराग्लाइडिङ र पावर प्याराग्लाइडिङ (पीपीजी) उपकरण निर्माणमा योगदान गरेको छु । यसको आविष्कार गर्ने तीनजना व्यक्तिमध्ये एउटा म हुँ । मानिस पँखेटा लगाएर उडोस् भन्ने मेरो चाहना छ । त्यस्तै पृथ्वीलाई प्राकृतिक रूपमा बचाइराख्न म वातावरण संरक्षणको दूत भएर पनि हिँडिरहेको छु, काम गरिरहेको छु । ‘पृथ्वी मेरो घर, स्वास्थ्य मेरो धन’ नाराका साथ देश–विदेश दौडाहामा छु । त्यस्तै मेरो ‘कृषि मेरो चाहना, कृषक मेरा साथी’ भन्ने अर्को नारा पनि छ । कृषि क्षेत्रबाट उत्पादित खाद्यान्नविना पृथ्वीमा बसोवास गर्ने कुनै पनि मानिसको जीवन चल्न नसक्ने भएकाले कृषि उत्पादन तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडसँग पनि जोडिएको छु । देशभित्रका २५–३० जिल्लाबाहेक जापान, दक्षिण अफ्रिका, अमेरिका र युरोेपमा पनि खाद्य बैंकको सञ्जाल विस्तार भइसकेको छ ।  मानिसले प्रकृति बिगार्दै गएकाले त्यसको संरक्षण आवश्यक देखिएकाले संरक्षणका लागि नयाँ सोच र योजनाका साथ काम गर्ने मेरो चाहना छ । त्यही भएरै पँखेटा लगाएर उड्न मिल्ने पीपीजीको आविष्कार गरिएको हो । पीपीजी आउनुअघि प्यारासुट, प्याराग्लाइडिङ, हेङग्लाइडिङ जस्ता विभिन्न माध्यमबाट पनि उडान हुँदै आएका थिए, भइरहेका पनि छन् । यस्तोमा इन्धनविना उड्न सक्ने अझै भरपर्दो साधनको आवश्यकता बोध भयो । सोही आवश्यकता पूर्तिका लागि पीपीजीको आविष्कार गरिएको हो । इन्धनविना आकाशमा उड्यो भने प्रदूषणबाट मुक्त हुन सकिन्छ । हवाईजहाज निर्माण गर्न, विमानस्थल बनाउन, गाडी किन्न धेरै पैसा लाग्ने भएकाले पीपीजीको प्रयोगले त्यो समस्या पनि समाधान हुने भयो । अहिले लाखौं मान्छे पीपीजीबाट उड्न थालेका छन् । यो काम सफल भएकोमा म खुशी छु । यी सबै काम गरे पनि म एउटा साधारण मानव हुँ भनेर परिचय दिन चाहन्छु ।  मेरो जीवनको करिअर भने पर्यटकको भरिया बोक्ने कामबाट शुरू भएको हो । तर मैले लिएको विचार महत्त्वपूर्ण भएकाले र सोहीअनुसार इमानदार भएर काम गरेकाले विभिन्न अवसर पाएँ । स्वीट्जरल्यान्ड, चेक रिपब्लिक, अमेरिका जस्ता देशमा पुगेर विचार राख्न पाएँ । त्यहाँका नागरिकले मेरा विचार र कर्मलाई पत्याए । अहिले म पर्यटन व्यवसायी पनि भएको छु । यतिखेर पर्यटनको सिजन भएकाले मेरो कर्मबाट रोजगारी सृजना भइरहेको छ । केही दिनपछि म हिमाल चढ्न जाँदै छु । किताब लेख्ने काम पनि गरिरहेको छु । सोलुखुम्बुको चौंरीखर्कमा जन्मिएको एउटा मान्छेका लागि यो सबै काम निकै बढी हो जस्तो लागे पनि मैले सहज रूपमा लिइरहेको छु ।  इमानदारीपूर्वक काम गरेकाले नाम, दाम कमाउन सफल भइयो । मानिस इमानदार हुने हो भने संसारमा जहाँ बसे पनि हुन्छ । कतिपयले मलाई धेरै धनी व्यक्ति पनि भन्छन् । त्यसो सुन्दा मलाई हाँसो लाग्छ । मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मान्छेको इमानदारी हो । जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या छ जस्तो लाग्दैन । मान्छेको जीवनमा धेरैभन्दा धेरै जनासँग सहकार्य गरेपछि मात्र केही न केही नयाँ योजना बन्ने हुन् । मेरो जीवनमा पनि त्यस्तै भइरहेको छ । मेरो विचारमा हरेक व्यक्तिका लागि जम्मा दुई दिन हुन्छ, एउटा जन्म र अर्को मृत्युको दिन हो । अरू समय व्यतीत गर्ने अवधि मात्र हो । जन्म र मृत्युबीचको अवधिमा सबैले केही न केही काम गर्छन् । सिद्धार्थ गौतम बुद्धले भनेझैं मानिस प्रकृतिप्रेमी हुनुपर्छ भन्ने मलाई लाग्छ । म पनि त्यसैबाट प्रभावित छु । गौतम बुद्धले आममानिसका लागि काम लाग्ने विचार दिएकाले अहिलेको पुस्ताले देवता मानेको हो जस्तो लाग्छ । मलाई पनि देवता भनेको त्यस्तो हो जस्तो लाग्छ, जसले अरूका लागि दिने काम गर्छ ।  हिजोको भरिया आङतेम्बा आज कसरी यतिखेर चर्चा गर्न लायक अवस्थामा पुग्यो ? मैले जीवनमा ठूलो मान्छे खोज्न भनेर सारा संसार चहारेँ । अहिले विगतलाई संस्मरण गर्दा यो सब नबुझेर भएको रहेछ भन्ने लाग्छ । वास्तविक रूपमा भन्ने हो भने भरिया हुँदाको आङतेम्बा र अहिलेको आङतेम्बा एउटै हो । त्यतिबेला भौतिक रूपमा उचाइ, मोटाइ केही कम थियो होला । अहिले केही वृद्धि भएको होला । अहिले मलाई अन्तरराष्ट्रिय स्तरमा दिइएका नाम सबै कृत्रिम हुन् । म हिजो जे थिएँ, अहिले पनि त्यही हुँ । तर यो सब कुरा ठूलो मान्छे खोज्दै हिँडेपछि मात्र थाहा भयो । मलाई अहिले प्राप्त भएको ज्ञान यो संसारमा आफूभन्दा ठूलो मान्छे कोही रहेनछ भन्ने हो । ठूला ठूला कम्पनीका ब्रान्ड एम्बासडर, अन्तरराष्ट्रिय बुद्धिजीवी, आविष्कारक जस्ता जे नाम दिए पनि मेरा लागि ती त्यति महत्त्वका छैनन् । बरु त्यस्ता नाम थपिँदै गएको देख्दा हाँसो लाग्छ । हिजो म जे थिएँ, अहिले त्यो नहुन सक्छु । परिचय फेरिँदै गएको मात्र हो । मैले यस अवधिमा विभिन्न संघसंस्थालाई सघाइरहेको पनि छु । शरीरमा श्वास रहँदासम्म विभिन्न काम र परिचय हुन्छ । प्रकृतिलाई माया गर्ने मान्छे असल हुन्छ । मैले पर्यटकको भरिया हुँदादेखि नै अवलम्बन गरेको कर्म र इमानदारी आजपर्यन्त कायम राखेको छु ।  सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ ।  नेपालमा राम्रो सिस्टमको विकास नहुँदा जनताले दु:ख पाइरहेका छन् ।  जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या हुँदैन । तपाईंले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडलिङ पनि गर्नुभयो । यो कसरी सम्भव भयो ? मैले स्वीस घडीको मात्र नभई सयौं विदेशी वस्तुको मोडलिङ गरेको छु । अर्बौं डलर पूँजी भएका कम्पनीले उत्पादन गर्ने वस्तुको मोडलिङ गरेको छु । ती कम्पनीले मलाई भयङ्कर ठूलो मान्छे भएको जस्तो बनाए । यो सब मेरो कामप्रतिको निष्ठाले सम्भव भएको हो । त्यसैले म सधैं निष्ठावान् भएर काम गर्न सबैलाई सल्लाह दिने गर्छु । काम नै सबथोक वा देवता जस्तो भयो भने नाम, दामका लागि कुनै समस्या हुँदैन । मैले शुरूमा काम नै देवता हो जस्तो गरेँ । देवताका लागि ढुंगा, पोखरी या अन्य वस्तुभन्दा पनि काम नै हो भन्ने बुझाइले यहाँसम्म पुर्‍यायो भन्ने मेरो बुझाइ छ । म कहिल्यै पनि पोखरी, हिमाल वा ढुंगा पूजा गर्नतिर लागिनँ । कामलाई महत्त्व दिएँ । कामप्रतिको मेरो इमानदारीले विदेशी कम्पनीले पत्याए । इमानदारीले नै मेरो काम सफल भएको हो । भरियाको काम गर्दागर्दै विदेश पुग्दाको अनुभव सुनाइदिनुहोस् न । मेरो विदेश यात्रा हङकङ, सिंगापुर, थाइल्यान्डबाट भएको हो । म १६–१७ वर्षको उमेरदेखि नै विदेश जान थालेको हुँ । विदेश जाँदा पनि पर्यटकको भारी बोक्ने काम गर्थें । तत्कालीन राजा महेन्द्रले मनाङमा बसोवास गर्ने नागरिकका लागि गरिखान झिटीगुन्टाको सुविधा दिएका थिए । किनकि त्यो बेला मनाङवासी एकदमै गरीब थिए । झिटीगुन्टाको सुविधा पाएकाले विदेशबाट सामान ल्याएपछि भन्सार लाग्दैनथ्यो । सोही सुविधा अनुसार विदेशबाट सामान आयात हुन थाल्यो । मैले पनि झिटीगुन्टाको सुविधा अनुसार राहदानी बनाएर पर्यटकको भरिया हुँदै हङकङ जाने मौका पाएँ । त्यसपछि सिंगापुर, थाइल्यान्ड र बंगलादेश पुगेँ । त्यही अवसरमा धेरै कुरा सिक्ने मौका मिल्यो । अनि धेरै विषयमा अनुसन्धान गर्न पाएँ । यद्यपि औपचारिक शिक्षा भने मैले ३ कक्षासम्म मात्र पढेको हुँ । त्यही अनुभव नै स्नातकोत्तर वा विद्यावारिधिभन्दा अब्बल ठहरियो, जसले गर्दा म वैदेशिक यात्राबाट प्रभावित भएँ । म झिटीगुन्टाको सुविधा अनुसार विदेश गएकाले मनाङेहरूले आयात गर्ने सामानको फारम भरिदिने, कुन जहाज कहाँ जाँदै छ भन्नेबारे जानकारी दिनेजस्ता काम गर्न थालेँ । नेपालमा ल्याउनुपर्ने सामान, भन्सारले लिने करको बारेमा मनाङेहरूलाई पनि जानकारी दिने काम गरेँ । हङकङको अनुभवले युरोेप जान पाएँ । युरोेप पुगेपछि रेल देखेँ । दिल्लीबाट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल हुँदै युरोप गएको हुँ । १९ वर्षको उमेरमा त्यहाँ पुगेँ । त्यहीँबाटै स्वीट्जरल्यान्ड गएँ ।  युरोेप पुगेपछि के गर्नुभयो ? मैले आफ्नो कामलाई निरन्तरता दिएँ । त्यहाँ पुगेपछि पैसा पनि कमाएकै हो । त्यही पैसाबाट नेपालमा बैंक स्थापना गर्न मद्दत पुग्यो । जनता बैंक स्थापना गर्ने संस्थापकमध्ये एक हुँ । तर बैंकमा पैसा लगानी भएपछि ‘फ्रिज’ हुँदो रहेछ । मलाई त्यसमा पनि दु:ख लागेन । किनकि त्यसबाट कैयौंले रोजगारी पाइरहेका थिए, छन् । मैले कमाएको पैसा विभिन्न व्यवसायमा लगाएको छु । अहिले पनि पैसा चाहियो भने विदेशबाट ल्याउन सक्छु भन्ने आँट छ । मैले इमानदारीलाई आत्मसात् गरिरहेकाले पैसाको समस्या नभएको हो र यसका लागि अरूले पत्याएका हुन् भन्ने लाग्छ । तपाईंले नेपालमा कृषि अभियान पनि चलाइरहनु भएको छ, किन ? कृषि मानिसलाई बचाउने मुख्य क्षेत्र हो । कृषि नहुने हो भने भोकमरी हुन्छ । त्यही भएर म यो अभियानमा लागेको हु । मेरो जोड रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा छ । आकाश र जमीनले दिएको चिजबाट मानिस जिउनुपर्छ । कृषि उत्पादन नगर्ने हो भने भोकमरी हुन्छ । रैथाने बालीको उत्पादन गर्‍यो भने दीर्घकालीन पनि हुन्छ । त्यसविपरीत एकजनाले रोपेपछि हजार, लाखले खान पाउने खेती प्रणालीले मानिसलाई दीर्घकालसम्म हित गर्दैन । यस्तो खेती छिटो, मीठोका लागि मात्र हो । यसबाट उत्पादित कृषिउपज अखाद्य हुन्छ, यस्तो विधिको खेतीले जमीन नष्ट गर्छ । त्यही भएर मैले रैथाने खेतीलाई जोड दिइरहेको छु । मानिसले यसो गर्‍यो भने लामो समयसम्म कृषि गर्न सकिन्छ, नत्र चाँडै माटो मर्छ । आधुनिक नाममा भइरहेको खेतीले अनेकौं समस्या निम्त्याइरहेको छ । जमीन मर्‍यो भने खेती हुँदैन । म जापान, इटाली, हल्याण्डलगायत देशमा पनि खेतीकार्यमा लागिरहेको छु । त्यहाँ पनि रैथाने कृषि पद्धतिलाई जोड दिइरहेको छु । कृषि कर्ममा लाग्नुको मेरो उद्देश्य सबैले खान पाउनुपर्छ भन्ने हो । अहिलेका मान्छेले मात्र नभई २–३ सय वर्षपछि जन्मने मानिसले पनि खान पाउने गरी कृषि उत्पादन हुनुपर्छ भन्ने मेरो सोच छ । मेरो टिममा कृषिका विज्ञहरू पनि छन् । अहिलेको समयमा मेरो सोच फरक जस्तो लागे पनि यतिखेर पृथ्वीका लागि वैज्ञानिक कामभन्दा प्राकृतिक संरक्षणका काम गर्न बढी आवश्यक छ । केही वर्ष अघिसम्म मलाई पनि नेपालमा किन विकास नभएको होला जस्तो लाग्थ्यो । तर अहिले युरोेप, अमेरिकाजस्तो विकास नेपालमा भएको भए प्रकृतिको संरक्षण हुन्थ्यो होलात ? भन्ने लाग्छ । संसारका विभिन्न देशमा भ्रमण तथा बसोवास गरेकाले तपाईं नेपाल सरकारलाई के काम गर्न सल्लाह, सुझाव दिनुहुन्छ ? सर्वप्रथम त नेपालको सरकार चलाउने शैलीमा धेरै सुधारको खाँचो छ भन्ने मेरो ठम्याइ छ । नेपालमा राम्रो सिस्टम बन्न नसकेकाले जनताले दु:ख पाइरहेका छन् । सिस्टम बन्न नसकेकै कारण ठूलो संख्याका युवायुवती विदेश गइरहेका छन् । ठूलो संख्याका युवायुवती विदेश पस्दा खेतीयोग्य जमीन बाँझो छ । पुरुष विदेश पस्दा महिला एक्लै बस्न बाध्य छन् । यसले जनसंख्यामा पनि कमी ल्याइरहेको छ । त्यसैले विदेश गएकालाई नेपाल फर्काउन आवश्यक देखिएको छ । युवा देशमा फर्किएपछि बाँझो जमीनमा कृषि उत्पादन शुरू हुन्छ । सरकारले राम्रो काम गरेर देखायो भने विदेश गएकाहरू फर्कन्छन् । तर सरकारका गतिविधि हेर्दा राम्रो काम गर्न चासो छैन । विगतदेखि नै बन्ने गरेका सरकार राम्रो ट्र्याकमा आउन सकेका छैनन् । सरकारले दीर्घकालसम्म काम लाग्ने काम गरेको पनि देखिँदैन । सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ । अहिले सरकारमा बस्नेहरूले ठूला ठूला कुरा गर्नुभन्दा पनि साना ठानिएका, तर ती महत्त्वपूर्ण काम परिपक्व तरीकाले गर्नुपर्छ । कृषि मात्र सुधारिने हो भने देशले निकै प्रगति गर्ने सम्भावना छ । तर यो देशमा चाहिनेभन्दा नचाहिने कुरा गर्नेको समूह सक्रिय छ । तपाईंको आगामी योजना के कस्ता छन् ? अहिले मेरो इच्छा तपस्या गर्नेतिर भएकाले तपस्या पनि गरिरहेको छु । स्वच्छ र शान्त वातावरणमा बस्न चाहन्छु । मान्छेले जन्मदेखि मृत्युसम्म थुप्रै काम गर्नुपर्ने भएकाले मेरो पनि मृत्युसम्म इच्छा लागेका विषयमा अध्ययन, अनुसन्धान गर्ने विचार छ । तर अहिले नै यसै विषयको अनुसन्धान भन्न चाहिँ सकिँदैन ।

नाम स्मृति, काम सबैले सम्झिने

काठमाडौं । कुनै समय आम मानिसजस्तै पेशा र पारिवारिक जिम्मेवारीमा केन्द्रित काठमाडौं, बालुवाटारकी स्मृति पोखरेल ४ वर्षदेखि निरन्तर क्यान्सरपीडित बालबालिकाको जीवन बचाउने अभियानमा छन् । यस अवधिमा उनले क्यान्सर भएर जीवन र मृत्युको दोसाँधमा पुगेका ५० भन्दा धेरै बालबालिकालाई नयाँ जीवन दिएकी छन् । एउटा बच्चा बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो भन्ने भावनाले काममा उत्साह थपिरहेको स्मृति बताउँछिन् । छँदाखाँदाको पेशा छाडेर स्मृति यता लाग्नुको छुट्टै कथा छ । एकपटक रातो बंगला फाउन्डेशनको कामले काभ्रे पुगेका बेला एउटा स्कूलमा एकजना अधबैंशे पुरूष आर्थिक सहयोग माग्दै रहेछन् । उनीबारे बुभ्mदै जाँदा ५ वर्षे छोरा शिशिर सरयूको आँखामा क्यान्सरको उपचार गर्न सहयोगको याचना गर्दै हिँडेको थाहा भयो । शिशिरको अवस्थाबाट भावुक बनेकी स्मृति उनका अभिभावकलाई केही आर्थिक सहयोग गर्न सक्ने आश्वासनसहित सम्पर्क नम्बर दिएर काठमाडौं फर्किन् ।  ‘त्यसअघि बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने मलाई थाहा थिएन्,’ उनी भन्छिन्, ‘काभ्रेबाट फर्केको ३ दिनसम्म शिशिरको अवस्था सम्झिएर निद्रा लागेन । शिशिरका लागि केही गर्नैपर्छ भन्ने भावना झन् बलियो हुँदै गयो ।’ केही दिनपछि शिशिरका बुबाले फोन गरेर छोरालाई उपचार गराउन कान्ति बाल अस्पताल ल्याएको जानकारी दिए । ‘शिशिरलाई आर्थिक सहयोग गर्न कान्तिको अंकोलोजी वार्डमा पुग्दा दिमागै खलबलिने दृश्य देख्नुपर्‍यो,’ उनले भनिन् । त्यहाँका ३२ ओटा बेड २ महीनादेखि १६ वर्ष उमेर समूहका क्यान्सरपीडितले भरिएका थिए ।  ‘अस्पतालको त्यो अवस्थाले मेरो मनमा निकै ठूलो झट्का दियो । अनि म उनीहरूलाई पनि सहयोग गर्ने अठोट गरेर फर्किएँ,’ स्मृतिले भनिन् । त्यो कुरा उनले नजिकका साथीभाइ, आफन्त र इस्टमित्रसँग पनि शेयर गरिन् । र, उनीहरूसँग सहयोग पनि माग्न थालिन् । ‘एक किसिमले मैले त्यस बेलादेखि नै एउटा अभियान शुरू गरिसकेकी रहेछु,’ स्मृतिले भनिन् । दर्जनौं क्यान्सरपीडितलाई नयाँ जीवन दिने काम सहजै र एक्लैले गर्न नसकिने बुझाइले स्मृतिलाई संस्था नै दर्ता गराएर काम अघि बढाउने निर्णयमा पुर्‍यायो । अनि रातो बंगला फाउन्डेशन र नेपाल इन्जिनीयरिङ कलेजको आकर्षक जागीर छाडेर क्यान्सरपीडित बालबालिकाको सेवामा लागेको स्मृति बताउँछिन् ।  उनको त्यो निर्णयमा साथ दिन आइपुगिन्– स्कूले जीवनदेखिकै मिल्ने साथी केसाइन डिकी लामा । लामा, स्मृति र अरू तीनजना डाक्टर ९विष्णु अधिकारी, सुधा बस्नेत र सुचारिता तुलाधर० मिलेर गत सेप्टेम्बरमा विश नेपाल फाउन्डेशन नामक क्यान्सरपीडित बालबालिकाको जीवन रक्षामा काम गर्ने संस्था शुरू गरेका छन् । संस्था दर्ता गर्नुअघि नै क्यान्सरपीडित बालबालिकाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अभिलेख स्मृतिसँग छ । उनको संस्थाले दुरुपयोग नहोस् भनेर डाक्टरको सल्लाहबमोजिम बिरामीलाई आर्थिक, खानपान तथा पोषणमा सहयोग गर्ने गरेको छ ।  यो कामबाट घरपरिवार र आफू निकै सन्तुष्ट रहेको उनी बताउँछिन् । ‘मेरो र संस्थाको पहिलो उद्देश्य क्यान्सरपीडित बालबालिकाको जीवन बचाउनु हो । बालबालिका बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो । त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरू के हुन सक्छ र,’ उनले भनिन् ।  दुर्गम गाउँका क्यान्सरपीडितका आफन्त र अभिभावकले आर्थिक अभावका कारण उपचारका क्रममा बिरामीलाई आवश्यक पर्ने पौष्टिक आहार पुर्‍याउन सकिरहेका हुँदैनन् । पौष्टिक आहार पुगेन भने क्यान्सरको उपचार पद्धति केमोथेरापीले प्रभावकारी काम गर्न सक्दैन । त्यसका लागि विश नेपाल फाउन्डेशनले डाक्टरको सल्लाह बमोजिम बिरामीलाई पौष्टिक तत्वका रूपमा महीनाभरि नै पिडिएसोर र थ्रेप्टिनको व्यवस्था गरेको छ । दुर्गमबाट आएका बिरामीलाई उपचार अवधिभर काठमाडौंमा बस्न पनि समस्या हुन्छ । उपचार पूरा नहुँदै फर्किनुपर्ने बाध्यताले कतिपय बालबालिका अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । यसलाई सम्बोधन गर्न फाउन्डेशनले उपचार अवधिभर बिरामी र अभिभावकलाई काठमाडौंमा बस्न मिल्ने गरी आवासको व्यवस्था गर्ने योजना बनाएको छ । स्मृतिले दार्जिलिङको माउन्ट हर्मोन स्कूलबाट १२ कक्षा, कोलकाताबाट उच्च शिक्षा र अमेरिकाबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन् । परोपकारी काममा लागेको धेरै नभए पनि हजुरआमाको प्रेरणाले सानैदेखि यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच चाहिँ रहेको उनको भनाइ छ । हजुरआमाले शिशु सेवा समिति नामको संस्था खोलेर बालबालिकाका क्षेत्रमा काम गरेको उनले सानैमा देखेकी थिइन् । ‘त्यसैको प्रेरणाले होला मलाई समाज सेवामा रुचि जागेको,’ कुराकानी टुंग्याउँदै गर्दा उनले भनिन् ।

पाठ्यपुस्तकको प्रकाशक टुङ्गो लागेन

आगामी २०७९ सालको शैक्षिक सत्रका लागि कक्षा १–३ का पाठ्यपुस्तक छाप्न अझैसम्म प्रकाशकको टुङ्गो लाग्न सकेको छैन । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्न पाठ्यक्रम विकास केन्द्रमा निजी प्रकाशक सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था छ । केन्द्रले निकै ढिला सूचीकरणका लागि आवेदन आह्वान ग-यो भने निजी प्रकाशक भर्खरै सूचीकृत भएका छन् ।

कक्षा १२ को परीक्षा  फारम खुल्दासम्म कक्षा  ११ को ग्रेडसिट टुंगो लागेन

शिक्षा मन्त्रालयले बुझेन करिब चार लाख विद्यार्थीको पीडा परीक्षा फारम भर्ना खुल्दासम्म कक्षा १२ का विद्यार्थीले कक्षा ११ को ग्रेडसिट पाएका छैनन् । पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कक्षा १२ मा अध्ययन गरिरहेका...

शैक्षिक सत्र सुरू हुनै लाग्दा कक्षा ६ को थप पाठ्यपुस्तकको टुँगो लागेन

पाठ्यक्रम विकास केन्द्रलेले शैक्षिक समाग्री पाठ्यक्रम अनुसारै स्वीकृतीकोलागि बुझाउन साउनमा सूचना प्रकासन गरेको थियो। ५२ निजी प्रकासन गृहहरुले एक सय ७६ पुस्तक छपाई स्वीकृतिकोलागि पेस गरेका थिए।