असोज १६, धरान । कोरोना संक्रमण शुरु भएसँगै ठप्प रहेको धरानको पर्यटन व्यवसायमा डेढ वर्षयता ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ ।
कोरोना संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा ५५ प्रतिशत पर्यटन व्यवसायलाई प्रभाव पारेको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रवर्द्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययन अनुसार कोभिड अघि १२ लाख १३ हजार २७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ ५६ जनामा सीमित भएको छ ।
यस्तै, आम्दानीमा पनि कोभिड अघि एक वर्षमा १७ करोड ४० लाख रुपैयाँ रहेकोमा कोभिडपछि घटेर ७ करोड ८९ लाख रुपैयाँमा समेटिएको छ । यो ५४ प्रतिशतले फरक हो । खर्च पनि कोभिड अघि ७ करोड १६ लाख २७ हजार रुपैयाँ हुँदै आएकोमा कोभिडपछि ३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । अध्ययनको निष्कर्ष अनुसार धरानको पर्यटन गतिविधि ५२ प्रतिशतदेखि ५५ प्रतिशतसम्म घटेको पाइएको छ भन् २१ प्रतिशतले रोजगारी गुमाएका छन् ।
धरानको पर्यटन व्यवसायीमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको अध्ययनबाट देखिएको छ । यातायात क्षेत्रमा भने ४ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको देखिएको छ । धरानका ८० प्रतिशत व्यवसायीहरुले बैंकबाट ऋण लिएका छन् । सरकारी निकायबाट छूटको व्यवस्था दिइएको भएपनि ९० प्रतिशत व्यवसायीले छूट नपाएको पनि अध्ययनबाट देखिएको छ ।
धरानको पर्यटन बजारमा पहिलो नम्बरमा आन्तरिक, दोस्रो नम्बरमा भारतको बिहार, तेस्रोमा बंगाल र चौथोमा मात्र तेस्रो मुलुक वा विदेशी पर्यटकहरु आउने गरेको तथ्यांक पनि अध्ययनबाट खुलेको छ । विश्व पर्यटन दिवसको अवसरमा मंगलवार संघले आयोजना गरेको कार्यशाला गोष्ठीमा बास्तोलाले अध्ययनको निष्कर्ष तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अध्ययनले धरानलाई पर्यटकीय नगरीको रुपमा तोक्नुपर्ने सुझाव दिएको छ । धरानमा २४ घण्टा पर्यटकीय सेवा (नाइट मार्केट) सञ्चालन गर्न पनि अध्ययनको सुझावमा उल्लेख छ । यसैगरी, पर्यटन प्रोडक्ट निक्यौल गर्न, पर्यटकहरुलाई अलमलाउने पुर्वाधारहरु बढी मात्रामा विकास गर्न, पर्यटन बजारमा विविधता ल्याउन पनि सुझाव दिएको छ ।
यसैगरी, धार्मिकस्थलको महत्व सबैसम्म पुर्याउन भुमिका खेल्न, पर्यटकहरुलाई सुरक्षाको अनुभूति गराउन पहल गर्न, नीति तथा कार्यक्रम बनाउँदा निजी क्षेत्रको भावना समेट्न पनि सुझाव दिएको छ । साथै, धरानमा साहसिक पर्यटनको सम्भावना भएकोले यसको सम्बोधन गर्न पनि जरुरी रहेको अध्ययनले औल्याएको छ ।