क्रिप्टोकरेन्सीबाट हात झिक्दै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन
विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफूसँग रहेको अधिकांश क्रिप्टोकरेन्सी बिक्री गरेको छ। कम्पनीले आफूसँग रहेको ७५ प्रतिशत विटक्वाइन बिक्री गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ को अन्त्यमा यसको मूल्य...
काठमाडौं । अर्थतन्त्रलाई तीव्र गतिमा बढाउन नयाँ-नयाँ क्षेत्रमा हात हालिरहेको भुटान अहिले क्रिप्टोकरेन्सीतिर लागेको छ ।
क्रिप्टो माइनिङ व्यवसायका लागि ५० करोड डलर उठाउन यो महीना मात्रै सरकारी स्वामित्वको कमर्शियल होल्डिङ कम्पनी ड्रक होल्डिङ एन्ड इन्भेष्टमेन्ट (डीएचआई)ले लगानीकर्ताहरूलाई प्रस्ताव गरेको थियो ।
विश्वको सबैभन्दा ठूलो बिट्क्वाइन माइनरमध्ये एक सिंगापुरको समूह बिटडीयरसँग साझेदारी गरेपछि कम्पनीले लगानीकर्ताहरूलाई फकाएको थियो । हालैका वर्षमा अर्थतन्त्रलाई उकास्न बिट्क्वाइनको सहारा लिने एल साल्भाडोर, मध्य अफ्रिकी गणतन्त्रलगायत देशहरूले पनि यसको प्रयास गरेका थिए ।
क्रिप्टो बजारमा व्यापक सेल–अफ, घोटाला आदिले क्रिप्टो उद्योगमा व्यापक हलचल भएकै समयमा भुटानले यो प्रयास गरेको छ । भुटान विश्वमा सबैभन्दा ढिला इन्टरनेट चलाउने देशमध्ये एक हो ।
पछिल्लो प्रयासले त्यहाँका ग्रामीण अर्थतन्त्रमा नवप्रवर्तनलाई तीव्रता दिन सघाउने डीएचआईका प्रमुख कार्यकारी उज्जवल दीप दाहाल बताउँछन् । कम्पनी ऊर्जा क्षेत्रमा ड्रोन परिचालन गर्ने परियोजनाको शुरुआती चरणमा छ । फेब्रुअरीमा कम्पनीले बायोमेट्रिक डिजिटल पहिचान प्रणाली पनि ल्याएको थियो ।
कम्पनीले अहिले नयाँ पुस्ताको उद्योगमा आफ्नो ध्यान केन्द्रित गरिरहेको दाहालको भनाइ छ । यी प्रविधिहरूले नयाँ उद्योग सृजना गर्ने अनि लगानी पोर्टफोलियोको विविधीकरण गर्ने उनी बताउँछन् । बिटडियरसँग मिलेर डीएचआईले अन्तरराष्ट्रिय संस्थागत लगानीकर्ताहरूसँग पैसा लगानी गर्न पिचिङ गर्दैछ ।
कम्पनीले देशभित्र सय मेगावाटको क्रिप्टो माइनिङ डेटा सेन्टर पनि खोल्दैछ । भुटानमा जलविद्युत्को प्रचुर सम्भावना छ । बिट्क्वाइन माइनिङका लागि धेरै बिजुली चाहिन्छ । यसको लागि जलविद्युत् जस्तो नवीकरणीय बिजुली भएपछि के चाहियो ? भुटानको सबैभन्दा धेरै निर्यात वस्तु बिजुली हो । उसले बिजुली निकालेर भारतलाई बेच्छ ।
बिट्क्वाइन माइनिङ शुरु भयो भने यसले आम्दानीको स्रोतमा पनि विविधीकरणमा सघाउनेछ । यो विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो बिटक्वाइन माइनर बन्ने सक्ने नर्वेस्थित माइनिङसम्बन्धी डेटा दिने कम्पनी ह्याशरेट इन्डेक्समा विश्लेषक जारेन मेलरुड बताउँछन् । तर, यो पहलका चाहिने ५० करोड डलरको फन्ड जुटाउनै हम्मे हम्मे देखिन्छ ।
किनकि सन् २०२१ यता हरेक हप्ता एक माइनरले माइनिङ परियोजनाका लागि ५ करोड देखि १० करोड डलरसम्म उठाइरहेका छन् । अहिले माइनरले ५ करोड डलर उठाउन सक्नु नै ठूलो कुरा हुने मेलरुडको भनाई छ । हालैका समयमा क्रिप्टो उद्योगमा भएका घोटाला, बजारमा तीव्र उतारचढावको मारमा पनि कम्पनीहर" छन् ।
गएको वर्ष बिट्डियरले पनि ठूलो घाटा बेहोरेको थियो । कम्पनीको शेयर पनि एक तिहाइले घटेको छ । टाट पल्टिएको कर्जादाता ब्लकफाई र सेलियसमा डीएचआईको दशौं लाख क्रिप्टोकरेन्सी फसेको छ । तर, कम्पनीले आफूले पैसा गुमाएको कुरा अस्वीकार गर्दै आएको छ । क्रिप्टो उद्योगमा एक पछि अर्को घोटाला र घाटा भइरहँदा दाहालले माइनिङलाई लगानीका लागि सबैभन्दा सुरक्षित उद्योग दाबी गरेका छन् ।
भुटानले क्रिप्टो उद्योगको विकास गर्न सक्यो भने त्यहाँको अर्थतन्त्रलाई यसले निकै बढावा दिनेछ । यसले आम जनजीवनमा पनि सुधार आउनेछ । यद्यपि यसबाट भुटानको अर्थतन्त्र कति उकासिन्छ, त्यो भने समयले नै देखाउनेछ ।
नेपाल पनि जलविद्युत्मा प्रचुर सम्भावना भएको देश हो । निर्यात वस्तुको विकल्प सीमित भएको नेपालमा पनि क्रिप्टोकरेन्सी माइनिङलाई अनुमति दिएर अर्थतन्त्रलाई टेवा पुग्थ्यो कि ? एजेन्सी