वैशाख २९, काठमाडौं । मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचनमा वैशाख ३० गते मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।
स्थानीय तहको निर्वाचनको मतदान गर्न मतदाता पनि तीव्र प्रतीक्षामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले मतदानका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ ।
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले बताएको छ ।
यस्तो अधिकार केवल ५/ ५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । मतदान केन्द्रमा घोचो गाडेर, बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ ।
मतदान स्थलमा आवश्यक निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । यसैक्रममा हाम्रा संवाददाता सुनिल शर्माले काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रको बिहीवार स्थलगत निरीक्षण समेत गरेका छन् । हेरौं तस्वीरहरु :