राष्ट्रिय सभा बैठकबाट छवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको बैठकबाट बजेट आश्रित तीन र अन्य तीन विधेयक पारित भएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूको बहिष्कारका बीच बजेट आश्रित आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९ पारित गरिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारितका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । तीन विधेयकमाथिको दफावार छलफलसहित पारित गरिएको हो ।