वैशाख ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएका २०७ ओटा कम्पनी मध्ये सबैभन्दा बढी सिन्धु विकास बैंक र बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।
यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । बिशाल बजार कम्पनीको हकमा कम्पनीको शेयर कारोबार तीन महीनादेखि रोक्का रहेको थियो । तीन महीना पछि शेयर कारोबार खुला हुँदा लगानीकर्ताको आर्कषण बढेको हो ।
बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १६८ पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू.२८६, महिला लघुवित्तको शेयर मूल्य रू. १ हजार ९४२, ग्रीन डेभलपमेण्ट बैंकको रू. २३२, ज्योति लाइफ इन्स्योरेन्सको रू. ९०८ र एनसीसी बैंकको रू. ३४६ पुगेको हो ।