नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रमाणित गर्ने ठूलो गिरोहमाथि प्रहरीले अध्ययन गरी मुद्दा चलाउन शुरू गरेको छ । तर, यसका नाइकेहरूलाई जोगाउन प्रमुख विपक्षी दल र सत्ताघटक नेपाली कांग्रेस दिलोज्यान दिएर लागेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न लागेका वकिलहरूको ताँतीले यही प्रमाणित गर्छ । नेपाली कांगे्रसका नेता शेरबहादुर देउवाले बाहिर केही पनि भनेका छैनन् तर यो काण्ड सामसुम पार्न उनी पूरा शक्तिका साथ लागेका छन् ।
यस काण्डमा देउवापत्नीमाथि आरोप लागिसकेको छ । तर, प्रहरीले उनीमाथि अनुसन्धान नै अगाडि बढाएन । त्यस्तै खाँणपत्नीमाथि पनि आरोप लागेको छ । आफूलाई पनि गिरफ्तार गर्ने आशंकामा लुकेकी उनी अब मलाई समात्दैनन् भन्ने भएपछि संसद्मा हाजीर हुन पुगिन् । यसरी यो काण्डलाई कमजोर बनाउने गरी खेल भइरहेको छ । त्यसो त यो काण्ड माओवादीले चाहेर अगाडि बढेको होइन । एमालेका नेता केपी ओलीले त आफ्ना मान्छे समात्यो भनेर खुलेरै विरोध गरेका हुन् । अनुसन्धान गहिरोसँग भए आफूसम्म आइपुग्ने डरले उनले आलोचना गरेको स्पष्टै देखिन्छ ।
मोहन कायस्थ
कालिमाटी, काठमाडौं ।