आज अर्थमन्त्रीले संसद्मा बजेट पेश गर्दैछन् । शुरूमा ज्ञातभन्दा अज्ञात र जिउँदाभन्दा मरिसकेका शहीदहरूलाई श्रद्धाञ्जलि दिएर मन्त्रीले बजेट भाषण शुरू गर्नेछन् । जब उनको भाषण शुरू हुन्छ, एमाले सभासदहरूले आफ्नो अगाडिको टेबल बजाउन थाल्नेछन्, विपक्षीहरू खासगरी माओवादी कपाल कन्याउन थाल्ने छ भने कांग्रेस मस्तसँग सुतिरहेको हुनेछ । समयमै बजेट ल्याउन पाएको भए आफ्नो घर आफै बनाउनेदेखि आफ्नो बच्चा आफै जन्माउनेसम्मको कार्यक्रम ल्याउन सक्ने थिएँ भनेर अर्थमन्त्रीले बजेट भाषणमा व्यक्त गर्नेछन् । अर्थमन्त्रीले आफ्नो भाषणमा पटकपटक उच्च आर्थिक वृद्धि, न्यायपूर्ण वितरण, जनमुखी, लोककल्याणकारी, समावेशी, निजी–सार्वजनिक साझेदारी, निर्यातमुखी, आयात प्रतिस्थापन, खर्चकटौती, बचत परिचालन, मूल्य नियन्त्रण, पुनर्निर्माण, राहत पुन:स्थापना, पूर्वाधार, महिला सशक्तीकरण, औद्योगिकीकरण, कृषिमा व्यवसायीकरण, जलविद्युत्को उत्पादन, पर्यटन र पर्यावरणजस्ता शब्दहरू दोहोर्याई तेहर्याई पढ्नेछन् ।
वर्ष ६, अंक ६० शुक्रवार, ३, मंसिर २०६७ (तीतोमीठोबाट)