पहिले बारमा काम गर्ने अमेरिकी उद्यमी जेम्स एफ म्याक्केनन फूलको व्यापारबाट अर्बपति बनेका छन् । जिम म्याक्केनन नामले समेत चर्चित यिनको जन्म ६६ वर्षअघि आर्थिक अवस्था कमजोर भएको परिवारमा भएको हो । यिनका बुबा पेन्टिङ कन्ट्रयाक्टर थिए ।
सोचको शाब्दिक अर्थ मनमा उब्जने सामान्य विचार र उपायसँग मिले पनि यो एकदमै गहकिलो छ । झन्डै ५ वर्ष पहिले काठमाडौंमा भएको व्यावसायिक कार्यक्रममा एक विदेशी प्रशिक्षकले सयौं सहभागीलाई सोधेका थिए : संसारमा सबैभन्दा आत्मविश्वासी सोच भएको देश कुन हो ? हामी कसैले पनि नेपालको नाम लिएनौं, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, जापान आदिका लियौं । उनका अनुसार अमेरिकी, यूरोपेली, चिनियाँ, जापानी, अस्ट्रेलियालीहरूले पनि यस्तै मिश्रित उत्तर दिन्छन् रे । फरक यत्ति हो, हामीले हाम्रो देशको नाम लिएनौं तर उनीहरूमध्ये केहीले आफ्नै देशको लिए । तर, उत्तर कोरिया एउटा यस्तो देश हो जहाँ सबै सहभागीहरूले आफ्नै देशको मात्र नाम लिए रे । संसारमा उँचो आत्मविश्वास भएको देशमा उत्तर कोरियालाई मान्दा आश्चर्य र हीनताबोध दुवै एकैचोटि लाग्यो । हामीमा हीनताबोध वा आत्मविश्वासको कमी हुनुको कारण हाम्रो शिक्षाप्रणाली र हाम्रा अग्रजहरूले हामीलाई सिकाएका कुराहरू नै हुन् । सानैदेखि हामीले नेपाल सानो, गरीब, अविकसित मुलुक हो भनेर सिक्यौं । अन्य देशसँग तुलना गर्ने आँट नै कहिल्यै गरेनौं । गरीबी, अशिक्षा, रोग, दु:ख आदि हाम्रो भाग्यमै छ भनेर नियति मान्यौं वा मान्न लगाइयो ।
सिंह जंगलको राजा भएको उसको आफ्नै सोचले हो । नत्र जंगलमा सिंहभन्दा बलियोमा हात्ती, बाठोमा स्याल, अग्लोमा जिराफलगायत कैयौं जनावर छन् । तर, कसरी सिंह जंगलमा राज गर्न सफल हुन्छ ? सिंहमा भएको सोचले उसले आफूलाई सबैभन्दा शक्तिशाली ठान्छ र जंगलको राजा बनाएको हुन्छ । संसारमा भएका सबै विकास सोचको उपज नै हो । वैज्ञानिकहरूले चन्द्रमा वा मंगल ग्रहमा पाइला टेक्नेदेखि तपाईं हामीले सामान्य दैनिकी चलाउनेसम्म यही सोचको उपज हो । सोचबाटै सबै कुराको शुरुआत तथा अन्त्य हुन्छ । एलन मस्क, मार्क जुकरवर्ग, ज्याक मादेखि नेपाली अर्बपति विनोद चौधरी सफल हुनुको कारण उनीहरूको व्यावसायिक सोच नै हो । संसारका सबै स्वास्थ्य मान्छेहरूको सोच खुशी हुनु नै हुन्छ । गहन अध्ययन गर्ने हो भने न धेरै सम्पत्ति न राम्रो स्वास्थ्यले मान्छेलाई खुशी बनाउँछ । मान्छे सबैभन्दा खुशी तब हुन्छ जब ऊ आफूमा जेजस्तो छ त्यसमै सन्तुष्ट हुन्छ । खुशी हुनु, दु:खी हुनु मान्छेको आआफ्नो सोचमा भर पर्छ ।
जीवन सरल छ, मात्र हामीले नजानेर यस्लाई साँचिकै गाह्रो बनाइदिन्छौं । यदि सोच नै सबै थोकको शुरुआत अनि अन्त्य हो भने, यदि सोच नै जीवनको सबै भन्दा खुशी हो भने, एक पैसा पनि नलाग्ने यस्तो सोच धनी, गरीब, रोगी, निरोगी, साना, ठूला, काला, गोरा हामी सबैले आफू खुशी भएको किन नसोच्ने ? जीवन जिउने कला नजान्दा हामी दु:खी छौं, निराश छौं । गीतामा भनेको जस्तो हामी रित्तै जान्छौं, मरी लानु केही छैन भनेर जान्दाजान्दै पनि तँ तँ र म म गर्छौं । राम्रो सोचे राम्रै हुन्छ, फूलको आँखामा फूलै संसार भने जस्तै फूल कि काँडा सोच्ने हाम्रो आफ्नै सोचमा भर पर्छ ।
खेलकै कुरा गर्दा क्रिकेटमा हामी भारत र पाकिस्तान, श्रीलंकाजस्ता विश्व क्रिकेटका च्याम्पियन भइसकेका शक्तिशाली टिमसँग राम्रै खेल्यौं । भर्खरै चीनमा भएको एशियन गेममा मंगोलियाविरुद्ध टी २० क्रिकेटमा सातओटा विश्व रेकर्ड नै बनायौं । अब विश्व च्याम्पियन हुने सोच बनाएर तयारी गरिरहने हो भने त्यो दिन धेरै टाढा हुने छैन । अहिले हाम्रो समाजमा आर्थिक मन्दीका बारेमा थाहा नभएको, नसोचेको मान्छे नै नहोला । आर्थिक मन्दी आउनुमा अन्य धेरै कारणका बारेमा हामी अत्यन्त जानकार छौं । धेरैले दिने दोष भनेको कोरोना, भूकम्प, रसिया र युक्रेनबीचको लडाइँ नै हो । अनि, अर्को एउटा चलन नै बनिसकेको छ : अस्थिर सरकार र व्याप्त भ्रष्टाचार । अहिले सहकारीमा आएको विकृति र समस्यालाई पनि औंल्याएको पाइन्छ । तर, हामी मध्ये कमैले महसूस गरेको सबैको सोचले नै मन्दी आउनुमा प्रमुख भूमिका खेलिरहेको कुरालाई नकार्न सकिँदैन । एक कान दुई कान मैदान भने जस्तै सबैले भनेकै कुराको पछि नलागेर आफ्नो बुद्धिविवेक प्रयोग गर्ने हामीमध्ये धेरैको बानी छैन ।
चौतर्फी अपार सम्भावना बोकेको मुलुकमा बसेर पनि मन्दीले यति साह्रो गाँज्नुमा तपाईं हाम्रो सोचले नै काम गरेको हो भन्न सकिन्छ । हरेक सूर्यास्तसँगै हजारौं नेपालीले आफ्नो राहदानीसँगै रंगीन सपना बोक्दै परदेशिनु परिरहेको छ । धेरै व्यवसायी आफू कसरी बाँच्ने भनेर रणनीति बनाइरहेका छन् । आजभोलि मान्छे निर्यात गर्ने व्यवसायी (शैक्षिक परामर्श र वैदेशिक रोजगार) बाहेक धेरैको मुहारमा खुशी भेट्न गाह्रो हुनुमा मन्दीकै असर परेको मान्न सकिन्छ ।
समाजकै मनोदशा बिग्रिएर भगवानै मान्ने डक्टरहरूलाई पनि दिनदिनै पिटिरहेको समाचार आइरहेका छन् । त्यसैले सोच बदलौं अनि अवस्था आफै बदलिन्छ । बैंकमा तरलता भएको अहिलेको अवस्थामा उद्यम गरौं, एकआपसमा आत्मविश्वास बढाऔं र यो मन्दीलाई सबै मिली परास्त गरौं । कृषि, पर्यटन र जलविद्युत्ले मात्रै पनि समृद्ध बनाउन सकिने देशमा सबैले सही सोच राखेर काम गर्ने हो भने हाम्रै पालामा संसारकै विकसित र समृद्ध देश नेपाल भनेर चिनाउन सकिन्छ । आजै सोचौं ।
लेखक नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं मार्स एडभरटाइजिङ एन्ड रिसर्च प्रालिका प्रबन्ध निर्देशक हुन् ।
मानिस हावा, पानी, घाम नभए पनि बाँच्न सक्छ, तर कुनै एउटा वादी नभई बाँच्नै सक्दैन । वास्तवमा मानिस स्वतन्त्र रूपमा बाँच्नै सक्दैन वा खोज्दैन । उसलाई बाँच्न कि शस्त्र चाहिन्छ कि त शास्त्र । शास्त्र भन्ने बित्तिकै सिद्धान्त वा वाद आइहाल्छ । वादका पछि लाग्ने वादी नभए त नेपाली नै नहुने भइसक्या छ भन्या अब !
समयक्रममा वादहरू पनि फेरिँदै गएका छन् । जस्तै, पहिले राजावाद, मण्डलेवाद, राष्ट्रवाद, प्रजातन्त्रवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद थियो । केही समय यता आएर संघीयतावाद, जनवाद, डनवाद र अहिले धनवाद खुब चल्न थालेको छ ।
मानव जातिको पाँच हजार वर्षको इतिहासमा मानिसलाई सबैभन्दा बढी आकर्षित गर्ने कुनै चिज छ भने, त्यो हो वाद वा सिद्धान्त । समाजवाद, साम्यवाद, पूँजीवाद, माओवाद, लेनिनवाद, स्टालिनवाद, फाँसीवाद, द्वैतवाद, अद्वैतवाद आदि । हो, वादहरूले नै मानिसलाई सबैभन्दा बढी सुखी र शान्त बनाएका छन् ।
तर सुख र शान्तिको खोजमा मानव इतिहासमा जति पनि युद्ध भएका छन्, जति पनि हिंसा भएका छन्, ती सबै वादहरूकै वरिपरि भएका छन् । त्यसैले त मानिस वाद छाड्नै सक्दैन, बरु बत्तीमा पुतली होमिएझैं वादी बनेर मर्छ । सामान्य मान्छे मरे कुकुर–बिरालो मरेजस्तो हुन्छ अनि वादीहरू मरे भने बल्ल राज्यले थाहा पाउँछ । उस्तै परे वादीहरू शहीदमा दरिइन्छन् ।
समयक्रममा वादहरू पनि फेरिँदै गएका छन् । जस्तै, पहिले राजावाद, मण्डलेवाद, राष्ट्रवाद, प्रजातन्त्रवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद थियो । केही समय यता आएर संघीयतावाद, जनवाद, डनवाद र अहिले धनवाद खुब चल्न थालेको छ । यसरी नयाँ वाद आउनासाथ पुरानो वादले चोला फेरेको छ । तर वाद फेरिए पनि वादभित्र हुने मूल तत्त्व भने फेरिएको छैन ।
उदाहरणका लागि सन् १९१७ देखि रूसमा पुराना सबै वादहरू समाप्त भए । पुराना देवीदेवताहरूलाई पनि बिदावारी गरियो । तर त्यहाँ नयाँ देवीदेवताहरू जन्माइए । नयाँ धर्म जन्माइए । अहिले त्यहाँको क्रेम्लिन मक्का–मदिनाभन्दा बढी लोकप्रिय छ । त्यो नयाँ तीर्थ हो, जहाँ पूजाका फूल चढाउन संसारभरका साम्यवादीहरू जान्छन् । त्यहाँ मूर्तिहरू र जिजसका गिर्जाघरहरू हटाइए । तर लेनिनका मूर्तिहरू चौबाटोमा ठड्याइए । ‘भगवान् लेनिन’लाई अमर छन् भन्ने देखाउन उनको शरीरलाई रसायन छरेर राखिएको छ । त्यसको पनि समाजवादी तरिकाले नै पूजा हुने गर्छ क्यारे !
अझ चीनमा पनि अर्का भगवान् छन् माओ । उत्तर कोरियाका देवता किम इल सुङको त शालिक देख्नेबित्तिकै ढोगेन भने त्यसको ज्यान ठाउँका ठाउँ स्वाहा हुन बेरै लाग्दैन । विवाह गर्न पनि त्यही शालिक धाउनुपर्ने गज्जपको वाद छ त्यहाँ । हाम्रोमा पनि पुरानो राजाका ठाउँमा नयाँ राजाहरू आए । एउटा राजा धपाइए, हजारौं उदाए । देख्नुभो त वादको कमाल ?
मानिस जति जति नयाँँ नयाँ वादको स्वाद लिन थाल्छ, त्यत्ति नै ऊ आफूलाई आधुनिक बन्दै गएको अनुभूति गर्छ । अनि उसले हरेक कुरो वादको चस्माले मात्र हेर्छ र व्याख्या गर्छ । उदाहरणका लागि गाईपार्टीका अध्यक्षका एक प्रत्यासीले चुनाव हुनुभन्दा अगाडि र चुनाव हारेपछिको अभिव्यक्ति पढ्याैं भने यो कुरा छर्लङ्ग बुझिन्छ ।
भनिन्छ, नयाँ चिन्तनका लागि खाली दिमाग हुनुपर्छ । तर कुनै एउटा वादले भरिएको दिमागले नयाँ चिन्तन गर्नै सक्दैन । त्यै भएर त दशकौंदेखि नेपालका मै हुँ भन्ने दल र तिनका नीति पुराना, विचार पुराना र व्यवहार पुराना । नयाँ र वैकल्पिक भनिएका शक्तिहरू पनि पुराना दलहरूका भन्दा पनि पुरानो राजतन्त्रको मूर्ति बोकेर पो हिँड्न थालेका छन् । यो चाहिँ वादहरूको फ्युजन हो कि कन्फ्युजन म आफै पनि द्विविधामा छु ।
वाद के हो ? मन हो कि पागलपन ? किन वादले जमिन र जनताको मात्र भागबण्डा गर्दैन, मानिसलाई कित्ताकित्तामा बाँडेर समाजलाई नै छिन्नभिन्न गरिदिन्छ ? वाद भनेकै मानिसलाई विशुद्ध मानिस भएर बाँच्न नदिने सूत्र हो । हुन पनि शुद्ध मानिस मात्र भएर बाँच्न थाल्यो भने त उसलाई कसले पो चिन्छ र कसले पो गन्छ र ?
वाद वा सम्प्रदायका आलोचकहरू भन्छन् कि हरेक वादभित्र एउटा तर्क हुन्छ । वास्तवमा त्यसैमा नर्क लुकेको हुन्छ । भित्र एक थोक छ, बाहिर अर्कै । त्यसैले हरेक वाद झुट हो, त्यसैले यो लुट हो । अर्काको वाद आफ्नो लागि फुट हो । आफ्नो वाद चैं समाजका लागि छुट हो । त्यसैले समाजवादीले पूँजीवादमा जहिले पनि लुट देख्छ, पूँजीवादीले गुट । जनता चाहिँ टुटफुट भएर छुटफुट रूपमा कहिलेकाहीँ सेवा पनि पाउँछन् ।
हरेक वादलाई अडिन एउटा थाँक्रो चाहिन्छ, त्यसलाई संगठन वा पार्टी भन्छन् । त्यहाँ विचारभन्दा पनि बलको बाहुल्य हुन्छ । पार्टी भएपछि त्यहाँ कोही नेता हुन्छ, कोही कार्यकर्ता । कार्यकर्ता दास बन्छन्, नेता मालिक । यसरी कोही भगवान् बन्छन्, कोही भक्त । अनि भगवान्ले आज्ञा दिन थाल्छन् । त्यही संगठनको बलमा केही मानिस शक्तिशाली हुन्छन् । उसले भीड जम्मा गर्छ र त्यही भीडलाई भेडा बनाइरहन्छ ।
यसरी मालिकले भीड जम्मा गर्छ र क्रान्ति गर्नुपर्छ भन्छ र क्रान्तिको नाटक पनि गर्छ । भीडले केवल मालिकको आदेश पालना गर्छ । भीडसँग दिमाग हुँदैन, तर्क हुँदैन र विवेक पनि हुँदैन । मालिकले जे भन्यो, त्यै मात्रै उसको सत्य हो । मालिक भन्छ क्रान्ति गर, दुःख फेरिएर सुखमा परिणत हुन्छ । अनि साम्यवादी मालिक अर्बपति हुन्छ, भीड सधैं रोडपति ।
२००७ सालको क्रान्तिले राणा हटायो, कांग्रेस उभ्यायो । २०४६ सालको आन्दोलनले पञ्चायत ढाल्यो, दललाई उचाल्योे । त्यसपछिको क्रान्तिले राजा फाल्यो, नवराजाहरूलाई सत्तामा पुर्यायो । नेताहरूले सबै थोक पाए, आसेपासेले पनि केही पाए । तर जनतासँग उही कथा, उही व्यथा, उही पीडा र उही निराशा बाँकी छ ।
ज्ञान र ध्यानले बुद्ध जन्माउँछ, वादले बुद्धु अन्माउँछ । बुद्धि भुट्न सक्नेहरूले भीड जम्मा गर्छन् । भीडले ज्यूहजुरवाला उभ्याउँछ । ज्यूहजुरवालाले कसैलाई अधिनायकवादी बनाएर पेश गरिदिन्छ । ज्यूहजुरवालाहरू आफ्नो इच्छाले कहिल्यै चल्दैनन् । ऊनीहरू त अरूकै इच्छा, अरूकै ईशारा, अरूकै विचार र अरूकै हितका लागि बाँच्छन् ।
यसरी हामी कि हिन्दू हौं कि मुस्लिम, इसाई हौं कि बुद्धिष्ट । त्यस्तै, हामी कि समाजवादी हौं कि पूँजीवादी । हामी विशुद्ध मानिस बन्नै सक्तैनौंं । तर कुनै वादी मजाले बनिदिन्छौं ।
हाम्रोमा वादविनाको जीवन र भातविनाको भोजन काम लाग्दैन । यदि अहिलेसम्म तपाईं कुनै वादमा हुनुहुन्न भने कुनै एउटा वादमा छिरिहाल्नोस् है ? नत्र पछि पर्नुहोला नि !