तपाईं के वादी ?

मानिस हावा, पानी, घाम नभए पनि बाँच्न सक्छ, तर कुनै एउटा वादी नभई बाँच्नै सक्दैन । वास्तवमा मानिस स्वतन्त्र रूपमा बाँच्नै सक्दैन वा खोज्दैन । उसलाई बाँच्न कि शस्त्र चाहिन्छ कि त शास्त्र । शास्त्र भन्ने बित्तिकै सिद्धान्त वा वाद आइहाल्छ । वादका पछि लाग्ने वादी नभए त नेपाली नै नहुने भइसक्या छ भन्या अब ! समयक्रममा वादहरू पनि फेरिँदै गएका छन् । जस्तै, पहिले राजावाद, मण्डलेवाद, राष्ट्रवाद, प्रजातन्त्रवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद थियो । केही समय यता आएर संघीयतावाद, जनवाद, डनवाद र अहिले धनवाद खुब चल्न थालेको छ । मानव जातिको पाँच हजार वर्षको इतिहासमा मानिसलाई सबैभन्दा बढी आकर्षित गर्ने कुनै चिज छ भने, त्यो हो वाद वा सिद्धान्त । समाजवाद, साम्यवाद, पूँजीवाद, माओवाद, लेनिनवाद, स्टालिनवाद, फाँसीवाद, द्वैतवाद, अद्वैतवाद आदि । हो, वादहरूले नै मानिसलाई सबैभन्दा बढी सुखी र शान्त बनाएका छन् । तर सुख र शान्तिको खोजमा मानव इतिहासमा जति पनि युद्ध भएका छन्, जति पनि हिंसा भएका छन्, ती सबै वादहरूकै वरिपरि भएका छन् । त्यसैले त मानिस वाद छाड्नै सक्दैन, बरु बत्तीमा पुतली होमिएझैं वादी बनेर मर्छ । सामान्य मान्छे मरे कुकुर–बिरालो मरेजस्तो हुन्छ अनि वादीहरू मरे भने बल्ल राज्यले थाहा पाउँछ । उस्तै परे वादीहरू शहीदमा दरिइन्छन् । समयक्रममा वादहरू पनि फेरिँदै गएका छन् । जस्तै, पहिले राजावाद, मण्डलेवाद, राष्ट्रवाद, प्रजातन्त्रवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद थियो । केही समय यता आएर संघीयतावाद, जनवाद, डनवाद र अहिले धनवाद खुब चल्न थालेको छ । यसरी नयाँ वाद आउनासाथ पुरानो वादले चोला फेरेको छ । तर वाद फेरिए पनि वादभित्र हुने मूल तत्त्व भने फेरिएको छैन । उदाहरणका लागि सन् १९१७ देखि रूसमा पुराना सबै वादहरू समाप्त भए । पुराना देवीदेवताहरूलाई पनि बिदावारी गरियो । तर त्यहाँ नयाँ देवीदेवताहरू जन्माइए । नयाँ धर्म जन्माइए । अहिले त्यहाँको क्रेम्लिन मक्का–मदिनाभन्दा बढी लोकप्रिय छ । त्यो नयाँ तीर्थ हो, जहाँ पूजाका फूल चढाउन संसारभरका साम्यवादीहरू जान्छन् । त्यहाँ मूर्तिहरू र जिजसका गिर्जाघरहरू हटाइए । तर लेनिनका मूर्तिहरू चौबाटोमा ठड्याइए । ‘भगवान् लेनिन’लाई अमर छन् भन्ने देखाउन उनको शरीरलाई रसायन छरेर राखिएको छ । त्यसको पनि समाजवादी तरिकाले नै पूजा हुने गर्छ क्यारे ! अझ चीनमा पनि अर्का भगवान् छन् माओ । उत्तर कोरियाका देवता किम इल सुङको त शालिक देख्नेबित्तिकै ढोगेन भने त्यसको ज्यान ठाउँका ठाउँ स्वाहा हुन बेरै लाग्दैन । विवाह गर्न पनि त्यही शालिक धाउनुपर्ने गज्जपको वाद छ त्यहाँ । हाम्रोमा पनि पुरानो राजाका ठाउँमा नयाँ राजाहरू आए । एउटा राजा धपाइए, हजारौं उदाए । देख्नुभो त वादको कमाल ?   मानिस जति जति नयाँँ नयाँ वादको स्वाद लिन थाल्छ, त्यत्ति नै ऊ आफूलाई आधुनिक बन्दै गएको अनुभूति गर्छ । अनि उसले हरेक कुरो वादको चस्माले मात्र हेर्छ र व्याख्या गर्छ । उदाहरणका लागि गाईपार्टीका अध्यक्षका एक प्रत्यासीले चुनाव हुनुभन्दा अगाडि र चुनाव हारेपछिको अभिव्यक्ति पढ्याैं भने यो कुरा छर्लङ्ग बुझिन्छ । भनिन्छ, नयाँ चिन्तनका लागि खाली दिमाग हुनुपर्छ । तर कुनै एउटा वादले भरिएको दिमागले नयाँ चिन्तन गर्नै सक्दैन । त्यै भएर त दशकौंदेखि नेपालका मै हुँ भन्ने दल र तिनका नीति पुराना, विचार पुराना र व्यवहार पुराना । नयाँ र वैकल्पिक भनिएका शक्तिहरू पनि पुराना दलहरूका भन्दा पनि पुरानो राजतन्त्रको मूर्ति बोकेर पो हिँड्न थालेका छन् । यो चाहिँ वादहरूको फ्युजन हो कि कन्फ्युजन म आफै पनि द्विविधामा छु । वाद के हो ? मन हो कि पागलपन ? किन वादले जमिन र जनताको मात्र भागबण्डा गर्दैन, मानिसलाई कित्ताकित्तामा बाँडेर समाजलाई नै छिन्नभिन्न गरिदिन्छ ? वाद भनेकै मानिसलाई विशुद्ध मानिस भएर बाँच्न नदिने सूत्र हो । हुन पनि शुद्ध मानिस मात्र भएर बाँच्न थाल्यो भने त उसलाई कसले पो चिन्छ र कसले पो गन्छ र ? वाद वा सम्प्रदायका आलोचकहरू भन्छन् कि हरेक वादभित्र एउटा तर्क हुन्छ । वास्तवमा त्यसैमा नर्क लुकेको हुन्छ । भित्र एक थोक छ, बाहिर अर्कै । त्यसैले हरेक वाद झुट हो, त्यसैले यो लुट हो । अर्काको वाद आफ्नो लागि फुट हो । आफ्नो वाद चैं समाजका लागि छुट हो । त्यसैले समाजवादीले पूँजीवादमा जहिले पनि लुट देख्छ, पूँजीवादीले गुट । जनता चाहिँ टुटफुट भएर छुटफुट रूपमा कहिलेकाहीँ सेवा पनि पाउँछन् । हरेक वादलाई अडिन एउटा थाँक्रो चाहिन्छ, त्यसलाई संगठन वा पार्टी भन्छन् । त्यहाँ विचारभन्दा पनि बलको बाहुल्य हुन्छ । पार्टी भएपछि त्यहाँ कोही नेता हुन्छ, कोही कार्यकर्ता । कार्यकर्ता दास बन्छन्, नेता मालिक । यसरी कोही भगवान् बन्छन्, कोही भक्त । अनि भगवान्ले आज्ञा दिन थाल्छन् । त्यही संगठनको बलमा केही मानिस शक्तिशाली हुन्छन् । उसले भीड जम्मा गर्छ र त्यही भीडलाई भेडा बनाइरहन्छ । यसरी मालिकले भीड जम्मा गर्छ र क्रान्ति गर्नुपर्छ भन्छ र क्रान्तिको नाटक पनि गर्छ । भीडले केवल मालिकको आदेश पालना गर्छ । भीडसँग दिमाग हुँदैन, तर्क हुँदैन र विवेक पनि हुँदैन । मालिकले जे भन्यो, त्यै मात्रै उसको सत्य हो । मालिक भन्छ क्रान्ति गर, दुःख फेरिएर सुखमा परिणत हुन्छ । अनि साम्यवादी मालिक अर्बपति हुन्छ, भीड सधैं रोडपति । २००७ सालको क्रान्तिले राणा हटायो, कांग्रेस उभ्यायो । २०४६ सालको आन्दोलनले पञ्चायत ढाल्यो, दललाई उचाल्योे । त्यसपछिको क्रान्तिले राजा फाल्यो, नवराजाहरूलाई सत्तामा पुर्‍यायो । नेताहरूले सबै थोक पाए, आसेपासेले पनि केही पाए । तर जनतासँग उही कथा, उही व्यथा, उही पीडा र उही निराशा बाँकी छ । ज्ञान र ध्यानले बुद्ध जन्माउँछ, वादले बुद्धु अन्माउँछ । बुद्धि भुट्न सक्नेहरूले भीड जम्मा गर्छन् । भीडले ज्यूहजुरवाला उभ्याउँछ । ज्यूहजुरवालाले कसैलाई अधिनायकवादी बनाएर पेश गरिदिन्छ । ज्यूहजुरवालाहरू आफ्नो इच्छाले कहिल्यै चल्दैनन् । ऊनीहरू त अरूकै इच्छा, अरूकै ईशारा, अरूकै विचार र अरूकै हितका लागि बाँच्छन् । यसरी हामी कि हिन्दू हौं कि मुस्लिम, इसाई हौं कि बुद्धिष्ट । त्यस्तै, हामी कि समाजवादी हौं कि पूँजीवादी । हामी विशुद्ध मानिस बन्नै सक्तैनौंं । तर कुनै वादी मजाले बनिदिन्छौं ।   हाम्रोमा वादविनाको जीवन र भातविनाको भोजन काम लाग्दैन । यदि अहिलेसम्म तपाईं कुनै वादमा हुनुहुन्न भने कुनै एउटा वादमा छिरिहाल्नोस् है ? नत्र पछि पर्नुहोला नि !