बारा । महागढीमाई नगरपालिका–१ स्थित रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिर अगाडि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह एवं श्री गढीमाई धार्मिक महोत्सव आज समापन गरिएको छ ।
यही फागुन २ गतेदेखि सुरुआत भएको सो भागवत श्री गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरीद तथा भवन निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको क्याम्पसका अध्यक्ष विजय स्वर्णकारले जानकारी दिए । यज्ञमा अहिलेसम्म विभिन्न दाताले ३७ कट्ठा जग्गादान गरेका छन् भने तुलादान, चन्दा सहयोग, गरी करीब साढे ४ करोड रुपैयाँसमेत सङ्कलन भएको भवन निर्माण तथा जग्गा खरीद व्यवस्थापन समितिले जनाएको छ ।
तराई मधेसको जिल्लामा सम्भवत पहिलो पल्ट यस्तो भव्य एवं सभ्यरुपमा महायज्ञ सञ्चालन भएको हो । सबैभन्दा बढी राष्ट्रियसभाका पूर्वसदस्य रमेश यादवले २५ लाख ६२ हजार, जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साहले २५ लाख, गढीमाई मन्दिर विकास तथा सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहले २१ लाख र महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज साह कानुले १२ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ दान गरेका छन् ।
त्यसैगरी राजेन्द्र कुसवाहाले ११ लाख ११ हजार एक सय ११, जयमङ्गल कुसवाहाले ५ लाख ५५ हजार र रामबाबु यादवले ५ लाख ५१ हजार रुपैयाँ दान गरेका छन् ।
त्यस्तै भारत विहार बस्ने साई सुइटसका मालिक सुदेश गुप्ताले ५ लाख ५५ हजार र कांग्रेसका जिल्ला सचिव भैयाराम यादवले ५ लाख ५१ हजार रुपैयाँ दान गरेका छन् ।
महायज्ञमा तुला दान गरेका ५१५ जनालाई दोसल्लासहित कदर पत्रबाट सम्मान गरिएको थियो । रासस