झापाको भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकै खेती गरेका छन् ।भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।”