जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार नेप्से परिसूचक १८ दशमलव २६ अंक घटेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ११२ दशमलव ४७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर २१ हजार ८३३ पटकमा रू. १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ दशमलव ६६ बराबरको शेयर खरीदविक्री भएको छ ।
बजेट सार्वजनिक भएको लगातार चौथो दिन पनि नेप्से घटेको हो । कुल बजार पूँजीकरण रू. ३० खर्ब ७ अर्ब रहेको छ ।
कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९७ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५३ दशमलव ३० पुगेको हो ।
त्यसैगरी दोस्रोमा माउन्टेन हाइड्रोपावर नेपालको शेयरमूल्य ४ दशमलव २० प्रतिशत बढेर रू. ३२० कायम भएको छ ।
बिहीवार सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ दशमलव ४७ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१५ मा झरेको छ ।
त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ८७ प्रतिशत घटेर रू. १ हजार ७५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री माउन्टेन हाइड्रो नेपालको भएको हो । कम्पनीको रू. १२ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
त्यसैगरी दोस्रोमा एनआईशी एशिया बैंकको रू. ६ करोड ५४ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूह बाहेक सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव १४ प्रतिशत वृद्धि भएको छ ।
समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ७५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५२ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ४९ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव ५५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५२ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ६७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ५६ प्रतिशत, अन्य समूहको १ दशमलव ५६ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक २ दशलमव ६० प्रतिशतका दरले घटेको हो ।