काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ ।
यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ ।
त्यसैगरी गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । बैंकले उल्लेख्य रूपमा खराब कर्जा घटाई गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झारेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।