६ महिनाकै अवधिमा कच्चा तेलको भाउ करिब ४५ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य ६ महिनामा बढेर गत बिहीवार ७६ डलर पुगेको थियो।...
काठमाडौं । रूसले युक्रेनका विभिन्न शहरमा आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूका बारेमा चिन्ता बढेको छ ।
युक्रेनमा रहेका १९३ नेपाली रूससम्बन्धी मामिला हेर्ने जिम्मा पाएको जर्मन दूतावासको सम्पर्कमा आएको बताइएको छ । युक्रेनमा अध्ययन र कामको सिलसिलामा करीब २३०/४० को हाराहारी नेपालीहरू रहेको अनुमान गरिएको छ । तर, गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा करीब ४०० नेपाली रहेको बताए । ‘अध्ययन र रोजगारीका लागि रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि कसरी अन्यत्र लैजाने भन्ने चिन्ता कायमै छ,’ उनले भने ।
अहिले आक्रमण पूर्वी भेगमा मात्रै भइरहेकाले दूतावासले पश्चिमतर्फ सुरक्षित स्थानतिर जान र सम्पर्कमा रहिरन सम्पर्कमा आएकाहरूलाई दूतावासले अनुरोध गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई सहायता प्रदान गर्दै आइरहेका अधिवक्ता तथा श्रम, आप्रवासन विज्ञ सोम लुइँटेल सम्पर्कमा आएकाहरूको अवस्था अहिलेसम्म सुरक्षित रहेको पाइएपनि सरकारले उद्धारमा प्राथमिकता दिनुपर्ने बताउँछन् ।
रूस र युक्रेनबीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । रूस विश्वको शीर्ष तेल आपूर्तिकर्तामध्ये एक हो । विश्व बजारमा रूसी तेल आपूर्ति प्रभावित हुने भयमा बिहीवार आक्रमणलगत्तै ब्रेन्ट क्रुडको भाउ बढेर सन् २०१४ यताकै ताजा उचाइमा उक्लिएको थियो । अवस्था अहिले सोचेको भन्दा धेरै बिग्रियो भनेर कच्चा तेलको भाउ प्रतिब्यारेल १५० डलरसम्म पुग्ने अनुमान अर्थशास्त्री तथा बजार विश्लेषकहरूले दिइरहेका छन् । तेलको भाउ १०० डलर माथि मात्रै रहँदा पनि नेपालको इन्धन आयातको खर्च १ खर्ब रुपैयाँभन्दा धेरैले बढ्ने अनुमान विज्ञहरूले गरेका छन् ।
युद्धको प्रभावस्वरूप सुनलगायत अन्य कमोडिटिजको भाउ पनि प्रभावित हुने देखिएको छ । विश्वको खाद्य आपूर्तिमा रूस र युक्रेन महत्त्वपूर्ण स्थानमा छन् । विश्वको कुल गहुँ कारोबारमा रूस र युक्रेनी गहुँको अनुपात २९ प्रतिशत छ । १९ प्रतिशत मकैको आपूर्ति पनि यी दुई देशबाट हुने गरेको छ ।
विश्व बजारमा रूस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रूस र युक्रेनबीच तनाव बढेपछि विश्व बजारमा फेबु्रअरीको मध्ययता गहुँ, मकै, भटमास लगायत खाद्य वस्तुको भाउ ह्वात्तै बढेको छ । विश्व बजारमा रूस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । युद्धको प्रभावस्वरूप सूर्यमुखी तेलको भाउ त बढेको छ नै पाम तेल र भटमासको तेलको भाउ बढेका छन् ।
अर्थशास्त्री डा. पोषराज पाण्डे युक्रेन युद्धको प्रभाव नेपालमा प्रत्यक्षभन्दा पनि परोक्ष धेरै हुने बताउँछन् । नेपालको अर्थतन्त्र आयातमुखी भएकोले विश्वभर आपूर्तिमा समस्या देखिँदा महँगी बढ्ने उनको भनाइ छ । पछिल्लो समय अमेरिका, बेलायतलगायतका देशहरूले नेपाललाई दिने सहायता बढाएका छन् । ‘अवस्था खराब हुँदै भयो भने युद्धको लागि आवश्यक खर्चको जोहो गर्न अन्यत्रको खर्च कटौती गर्दा नेपाललगायत देशहरूलाई दिने अनुदान घट्न सक्छ,’ पाण्डेले भने ।
काठमाडौं । पछिल्लो समय तेलको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिलाई कुनैहालत नरोकिने देखिएको छ । डिसेम्बरदेखि जनवरीको बीचमा मात्रै कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्टक्रुड प्रतिब्यारेल ११ डलरले बढेको छ । आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्ता, विश्वभर बढेको महँगी र भूराजनीतिक तनावका कारण पछिल्ला केही हप्ताहरुमा तेलको मूल्य आकाशिएको हो ।
ब्रेन्टको मूल्य छिटै सय डलर नाघ्न सक्ने ऊर्जा विश्लेषकहरूले प्रक्षेपण गरिरहेका छन् । भाउ प्रतिब्यारेल १२५ डलर भन्दा माथि उक्लिने आँकलन गर्नेको संख्या बढिरहेको छ । पछिल्लो समय तेलकोे उत्खननमा पूँजीगत लगानी कम छ । भौतिक बजारमा तेलको उपलब्धता न्यून छ । यो अवस्थालाई हेर्दा आपूर्ति अभाव हुने र तेलको मूल्य १२० डलर नाघेर प्रतिब्यारेल १५० डलरसम्मै पुग्न सक्ने जेटीडी एनर्जी सर्भिसेजका निर्देशक जोन नड्रिस्कोल बताउँछन् ।
गएको हप्ता ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९५ डलर नाघेको थियो । यो सन् २०१४ को गर्मीयाम यताकै उच्च हो । गत वर्षको सोही अवधिको तुलनामा अहिले तेलको भाउ ६३ प्रतिशतले बढिसकेको छ । बुधबार यो समाचार तयार पार्दा सम्म लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनका ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.१७ प्रतिशतले बढेर ९४.३७ डलरमा किनबेच भइरहेको थियो ।
रुसले युक्रेनमा आक्रमण गर्ने खतराका कारण उत्पन्न तनावबीच तेलको मूल्य हालैका दिनमा बढेको छ । तर रुसले युक्रेनी सीमाबाट आफ्नो केही सेनाहरु हटाएको खबरले भने मंगलबार एकै दिन तेलको मूल्य ३ प्रतिशतले घटेको थियो । युक्रेनमाथि हमला गर्ने सम्भावनाको रुसले भने अस्वीकार गर्दै आएको भएपनि नाटोका अगुवा र अमेरिकी राष्ट्रपति जो बाइडेनले भने जोखिम उच्च रहेको बताउँदै आएका छन् । 'पछिल्लो समय तेलको मूल्य बढाउन भूराजनीतिक तनावले मात्रै भूमिका भने खेलेको छैन' ड्रिस्कोल भन्छन्।
बजारमा तेलको माग सुध्रिने क्रममा छ । तर आपूर्ति भने अभाव हुने देखिएको छ । प्रमुख निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसको तेल उत्पादन पनि समूहले बजारमा थप्ने जति तेल उत्पादन गर्न सकेका छैनन् । कोभिडको महामारी र नवीकरणीय ऊर्जाको प्रयोग बढाउने सरकारी नीतिका कारण अमेरिका र अन्य देशहरुमा तेलको उत्खननमा लगानी कम छ । ओपेक प्लसले जनवरीमा दैनिक लक्ष्य तोकेको भन्दा तेल उत्पादन ७ लाख ब्यारेल कम छ । साउदी अरब र रुसले नै आफ्नो कोटा भन्दा कम तेल उत्पादन गरिरहेका छन् ।
तेल बजारमा लगानीकर्ताहरुको लर्को
तेलको मूल्य बुलिश रहनुमा माथि भनिएका तत्वहरुको मात्रै भूमिका छैन । तेलसँग सम्बन्धित शेयरमा लगानीको आइरो पनि आइरहेको छ । अन्तरराष्ट्रिय तेल कम्पनीहरुले पनि ठूलो मुनाफा कमाइरहेका छन् । अमेरिकामा महँगी दशकौं यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तो अवस्थामा ऊर्जा कम्पनीको शेयरमा लगानी गर्नु चतुर लगानी हुने विश्लेषकहरुले सुझाइरहेका छन् ।
विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न समस्याहरुको साथमा महँगीका कारण विश्वभर पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ नै यसले उल्टै तेल उत्खननकर्ता विशेषगरी अमेरिकी शेल आयल उत्खननकर्ताहरुको लागत पनि बढाइरहेको छ । यसले पनि बजारमा तेलको मूल्य बढाइरहेको छ ।
‘हामीहरुले खपत बढाएपछि हाम्रो अतिरिक्त क्षमता घटेको छ, तर सम्पत्ति व्यवस्थापक, गैर–व्यवसायिक पेन्सन लगगायत मुख्य कारकहरुले तेल बजारमा लगानी खन्याइरहेका छन्,’ डिस्क्रोन भन्छन् । एसएन्डपी ५०० को ऊर्जा क्षेत्रको परिसूचक गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । यसले पनि तेलसँग सम्बन्धित कम्पनीको शेयरमा लगानीकर्ताको उत्साह छर्लङ पार्दछ ।
तेलको भाउ बुलिश रहने प्रक्षेपण गर्नेमा डिस्क्रोल एक मात्रै विश्लेषक होइनन् । यही महीना जेपी मोर्गनले तेलको भाउ बढेर प्रतिब्यारेल १२५ डलरमा पुग्ने प्रक्षेपण गरेको छ । माग अनुरुप तेलको आपूर्ति नहुने क्रम बढेको छ । बजारमा आपूर्ति अभाव बढ्दो छ । फेब्रुअरीमा ओपेकको तेल उत्पादन क्षमता दैनिक ३ लाख ब्यारेल कम हुने ऊर्जा सूचना प्रशासनले बताएको छ ।
अमेरिका र अन्यले तेलको मूल्य कम गर्न अनुरोध गरिरहेको भएपनि सन् २०२२ मा तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलले मात्रै बढाउने आफ्नो योजनाबाट विचलित हुने ओपेकले कुनै संकेत गरेको छैन । माग बढेर धान्नै नसक्ने हो कि भनेर प्रक्षेपण भइरहेको समयमा अपेक्षा गरिएभन्दा कम उत्पादनले ऊर्जा संकट निम्त्याउन सक्ने आशंका पनि गरिएको छ ।
माग विध्वंस
कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकुचनबाट विश्व अर्थतन्त्र पुनःबहाल भइरहेको छ । यी सबै कारकहरु र विश्वको आर्थिक पुनःबहालीलाई हेर्दा तेलको मूल्य वृद्धिलाई रोक्ने कारक निकै थोरै छ । तेलको मूल्य बढेर प्रतिब्यारेल १५० डलरमा पुग्यो भने यो तेल उत्पादक राष्ट्रहरुकै लागि समेत विपदकारी हुने चेतावनी दिइएको छ ।
तेलको मूल्य बढ्ने क्रमलाई उल्टयाउन सक्ने एउटै कारण मागमा आउने कमी हुन सक्ने आरबीसी क्यापिटल मार्केट्सका विश्लेषकहरुको विश्वास छ । माग विध्वंसको स्तरमा नपुग्दासम्म तेल चक्रले भाउ उच्च नै राख्ने आरबीसी क्यापिटल मार्केर्ट्समा कमोडिटि तथा डिजिटल बौद्धिकता रणनीतिज्ञ माइकल ट्रान बताउँछन् । यो गर्मीयाममा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर वा सो भन्दा उच्च रहने प्रक्षेपण आरबीसी क्यापिटल मार्केर्ट्सको छ ।
ऐतिहासिक रुपमा सीमित उत्पादन र कच्चा तेलको न्यून सञ्चितिका कारण तेलको मूल्य बढ्ने गरेको अनि माग विध्वंस वा आपूर्ति वृद्धि नहुँदासम्म यो समस्या समाधान नहुने देखिन्छ । तर अहिले यी मध्ये कुनै पनि कारक तत्कालै आउने संकेत नदेखिएको ट्रानको भनाइ छ ।