रेमिट्यान्सको रकम बैंकमा जम्मा गर्दा बढी ब्याज पाइने, कति ?

साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीबाट आउने विप्रेषण (रेमिट्यान्स) बैंकमा जम्मा गरेमा न्यूनतम पनि १ प्रतिशत विन्दु थप ब्याज दिने बताएको छ । राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने राष्ट्र बैंकको उद्देश्य छ । सोहीअनुसार  बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । र बचत गर्न प्रोत्साहन गर्ने गरि मौद्रिक नी गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ ।  

सम्बन्धित सामग्री

बैंक खाता वित्तीय स्रोतको मेरूदण्ड

गाउँघरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्तिको हुनु हो । बैंक खाताविनाको निक्षेपरूपी वित्तीय स्रोतको कल्पना पनि गर्न सकिँदैन । तसर्थ बैंक खाता वित्तीय स्रोतको मेरूदण्ड हो । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलब्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउँछ । सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून रहेको र वित्तीय साक्षरतासमेतको अभाव भएकाले प्रमुख वित्तीय स्रोतका रूपमा निक्षेप संकलन चुनौतीपूर्ण बन्नु स्वाभाविक मानिन्छ । मुलुकभरका ७५३ स्थानीय निकायमध्ये करीब ७५१ स्थानीय निकायमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको देखिन्छ भने करीब २ करोड ९२ लाखभन्दा बढी व्यक्तिले बैंक खाता खोलेको देखिन्छ । यसरी हेर्दा कुल जनसंख्याको करीब ९४ प्रतिशत देखिन्छ । एकातर्फ बैंक खाता वृद्धि चुनौती छ भने अर्कोतर्फ निष्क्रिय खाताको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । एकै व्यक्ति वा संख्याको एकै बैंक वा विभिन्न बैंकमा धेरै खाता खोलिएका कारण पनि संख्यामा विस्तार भएको देखिन्छ । दोहोरो खातालाई हटाउँदा करीब २ करोड नेपालीले बैंकमा खाता खोलेको देखिन्छ । न्यूनतम एक बैंकखाता हुने व्यक्ति करीब ६७ प्रतिशत ५ प्रतिशत देखिन्छ । अति आवश्यक कार्य नपरी बैंक खाता खोल्न नखोज्ने प्रवृत्तिमा सुधार ल्याउनको लागि बैंकिङ साक्षरतामा एकातर्फ जोड दिनुपर्छ । नेपालजस्तो करीब १७ प्रतिशत निरक्षर भएको र करीब ५५ प्रतिशतमा बैंकिङ साक्षरताको कमी भएको देशमा घरदैलो बैंकिङको अवधारणा विकास गर्दै घरदैलोमा पुगी बैंक खाता खोलाउनुको विकल्प छैन । यसबाट मात्र बैंक खाता खोल्ने व्यक्तिको संख्या बढाउन सकिन्छ । हालको समयमा थुप्रै मुलुकहरू नगदरहित भइसकेको र बवैंक नोटको प्रचलनमा कमी आइरहेको अवस्थामा नेपालमा भने अझै बैंक नोटप्रयोगको बाहुल्य रहेको छ । नोटको जतन बारेमा जतिनै सूचना जारी गरे पनि नोटको जतन सर्वसाधारण मात्र होइन, बैंक समेतबाट भएको देखिँदैन । संसारभर डिजिटलाइजेशनमा व्यापकताको फलस्वरूप आर्थिक विकाससमेत उत्कर्षमा पुगेको छ । नेपालमा अझै करीब ३० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिरै रहनुले वित्तीय स्रोत संकलन वा निक्षेप संकलनमा चुनौती थपेको छ । नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पूँजीबजार, गैरबंैकिङ वित्तीय क्षेत्र र सहकारी रहेका छन् जसबाट वित्तीय स्रोतको रूपमा निक्षेप संकलन र परिचालन भइरहेको छ । बैंकहरूमा प्राप्त हुने पूँजी वा कोषको ८० प्रतिशत भन्दा बढीको मुख्य स्रोत विभिन्न खातामा जम्मा हुने निक्षेप हो । बैक तथा वित्तीय संस्थाहरूको स्थापना र विस्तार तथा तिनको संख्यात्मक र गुणात्मक उल्लेख्य वृद्धि भए पनि सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून रहेको र वित्तीय साक्षरता समेतको अभाव भएकाले प्रमुख वित्तिय स्रोतका रूपमा निक्षेप संकलन चूनौतीपूर्ण बन्नु स्वाभाविक मानिन्छ । निक्षेपलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख वित्तीय स्रोत मानिन्छ । निक्षेप भन्नाले वाफियाको दफा २ मा ब्याज दिने वा नदिने गरी बैंकको चल्ती, बचत वा मुद्दती खातामा जम्मा भएको रकम सम्झनुपर्छ । उक्त शब्दले राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेबमोजिम बैंकले विभिन्न बैंकिङ तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकमसमेतलाई जनाउँछ । हाल बैंक निक्षेप ४८ खर्बभन्दा माथि र कर्जा ४२ खर्बभन्दा माथि छ । निक्षेप संकलनभन्दा लगानी रकम बढ्दै गएको कारण सीडी रेसियोले ९० प्रतिशतको बोर्डर क्रश गरेको अवस्था छ । जबसम्म देशको सबै क्षेत्रमा बैंकिङ पहुँच पुर्‍याउन सकिँदैन, तबसम्म नगदरहित बैंकिङ अपेक्षित रूपमा अघि बढ्न सक्दैन । विगत केही समयदेखि यसले उल्लेखनीय प्रगति भने गरेको छ । बैंक खाता हुनेले सोझै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, रकम ट्रान्सफर, टिकट बुकिङलगायत कार्य सहजै गर्न सक्ने अवस्था छ । बैंक खाता खोलेर बचत गर्दा बचत गरेको रकमको ब्याज पाइने, रकम हराउने र चोरिने डरबाट मुक्त, खाँचो पर्दा कसैको मुख ताक्न नपर्ने, कर्जा निकाल्नु पर्दा सजिलो, विदेशबाट रकम प्राप्त गर्न सजिलो अदि फाइदा छन् । त्यसैले सबै नागरिकले बैंक खाता खोल्नु अनिवार्य हुन जान्छ । बैंक खाता खोलिसकेपछिको फाइदा धेरै हुने हुँदा यसतर्फ सम्बद्ध निकायले समयमा नै प्रचारप्रसार समेतलाई तीव्रता दिनुपर्छ । घुम्ती बैंकिङसमेतलाई अगाडि वढाउनुपर्छ । तरलताको अभावबाट प्रभावित बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले सतर्कतापूर्वक अनुगमन तथा निगरानी गर्ने, तरलताको न्यूनता भोगेको बैंक तथा वित्तीय संस्थाहरूको सुविधाका लागि रिपो खुला गर्ने, सरकारले आफ्नो विकास प्रशासनको क्षमता वृद्धि गरी पूँजीगत खर्च बढाउँदै लैजाने, वित्तीय साक्षतालाई बढाउने, बैंकिङ क्षेत्रको विस्तार र विकास एवं संस्थागत सुशासनलाई कार्यान्वयन गराउने, देशमा आयात प्रतिस्थापनसँग सम्बद्ध उद्योगको विकास तथा विस्तार गर्नेजस्ता उपायहरूबाट मात्र वित्तीय स्रोतका रूपमा रहेको निक्षेप संकलनमा प्रभावकारिता आउँछ । यस्ता क्रियाकलापबाट थप खाता खोल्ने वातावरणको समेत सृजना हुन्छ र अस्वस्थ बैंकिङ होडवाजीसमेत कम हुने कुरामा कसैको दुईमत नहोला । एक अध्ययनका अनुसार निक्षेप संकलनमा आपसी होडबाजी गर्नुभन्दा निक्षेपका स्रोतहरू सर्वसाधारण जनता, स्थानीय निकाय, प्रादेशिक कार्यालय, अन्तरवैक कारोवार, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, नेपाल सरकार, विदेशी दातृ निकाय, उद्योगधन्दा, कलकारखाना आदिबाट प्राप्त निक्षेपमा प्रतिस्पर्धी दर कायम गर्ने हो र उनीहरूलाई दिने सेवा तथा सुविधामा सरलता र सहजताको अनुभूति दिलाउने हो भने निक्षेप संकलन सहज हुन्छ । बैंकिङ क्षेत्रका कर्मचारीहरूद्वारा आतिथ्य तथा मुस्कानसहितको सेवा दिने र वित्तीय समावेशीकरणलाई विस्तार र विकास गर्न सकेको खण्डमा वित्तीय स्रोत संकलनमा सहजता आउनुको साथै बैंकखाता खोल्ने संख्यामा समेत वृद्धि हुने देखिन्छ । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।