भैरहवा सेजमा ११ उद्योगद्वारा सञ्चालन आवेदन

भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका कम्पनीहरूमध्ये निर्धारित समयभित्र झन्डै आधामात्र सम्पर्कमा आएका छन् । उद्योग स्थापनाका लागि प्रारम्भिक सम्झौता गरेका १९ मध्ये ११ उद्योगले मात्र सम्झौताका लागि आवेदन दिएको विशेष आर्थिक क्षेत्र विकास समितिले जानकारी दिएको छ । अन्य उद्योगका लागि पुनः १५ दिनको समय दिएर सम्झौतामा आउन सूचित गरिने जनाइएको छ ।

सम्बन्धित सामग्री

भरिँदै भैरहवा सेज

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यहाँ रहेका सबै ६८ वटै प्लटमा उद्योग स्थापना गर्न उद्योगीले सम्झौता गरेका छन् । सेजभित्र हाल सञ्चालन भइरहेका सातवटा उद्योगले १८ वटा प्लट उपयोग गरिरहेका छन् । बाँकी ५० वटा प्लटमा उद्योग स्थापनाका लागि आवेदन माग गरिएकोमा २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लटका लागि आवेदन परेका हुन् ।

सिमराका ६८ प्लट उद्योग सञ्चालनका लागि खुलाइए

काठमाडौं । दोस्रो चरणमा निर्माण भएको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा अब उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले सिमरा सेजको ब्लक ‘ए’ का ६८ ओटा प्लट उद्योग सञ्चालनका लागि खुला गर्दै उद्योग स्थापनाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले सिमरासहित भैरहवा सेजका खाली रहेका ४५ ओटा प्लटमा पनि उद्योग सञ्चालन गर्न सक्ने भन्दै प्रस्ताव पेश गर्न आह्वान गरेको हो । प्राधिकरणले आइतवार सूचना जारी गर्दै सिमरा र भैरहवा गरी ११३ ओटा प्लटमा उद्योग सञ्चालनका लागि प्रस्ताव माग गरेको हो । इच्छुक उद्योगी तथा व्यवसायीले फागुन ३० गतेसम्म सिमरा र भैरहवा सेजमा उद्योग स्थापनाका लागि आवेदन दिन सक्नेछन् । विशेष आर्थिक क्षेत्रले उपलब्ध गराउने भौतिक पूर्वाधारतर्फ आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमा जस्ता काम सम्पन्न भएका छन् । प्राधिकरणका अनुसार उद्योग सञ्चालनका लागि खुलाइएका प्लटको भाडा पनि तोकिएको छ । भू–बहाल अवधि बढीमा ३० वर्षको हुने पनि प्राधिकरणले उल्लेख गरेको छ । उद्योग सञ्चालन गर्ने उद्योगी तथा व्यवसायीले मासिक भाडा प्रतिवर्ग मिटर रू. २० तिर्नुपर्नेछ । उद्योग सञ्चालनका लागि खुला गरिएको भैरहवा सेज पूर्ण क्षमतामा सञ्चालन नभएका बेला र त्यहाँका प्लटहरू नै खाली रहेका बेला सिमरा सेज पनि खुला गरिएको हो । उद्योगीहरू नआउँदा भैरहवाका ४५ ओटा प्लट अझै खाली छन् । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले उद्योगी तथा व्यवसायीबाट सेजप्रति चासो सकारात्मक रूपमा आएकाले सिमरा र भैरहवा सेज सञ्चालनमा अब समस्या नहुने बताए । भैरहवा सेज सञ्चालनका क्रममा भएका समस्या तथा त्रुटिहरू न्यूनीकरणको प्रयास भएको उनले बताए । सोहीअनुसार विशेष आर्थिक क्षेत्र ऐन नै संशोधन गरेर पहिला भएका त्रुटि हटाउन र व्यवसायमैत्री नीतिनियम बनाउन लागिएको उनको भनाइ छ । ‘सेजमा उद्योग स्थापना गर्दा लागत पनि कम पर्ने र उद्योगीहरूकै हितलाई लक्षित गरेर ७५ प्रतिशत निर्यातको प्रावधान संशोधन गरिएको छ,’ उनले भने, ‘पहिलेका अप्ठ्यारा प्रावधान हटाउने र सहजीकरण गरिने भएकाले अब उद्योगीको आकर्षण बढ्नेछ ।’ बाराको सिमरास्थित सेजमा सरकारले रू. ३ अर्ब लगानी गरिसकेको छ । सिमरा सेजका पाँचओटा ब्लकमध्ये पहिलो चरणमा ‘ए’ ब्लक तयार भएको छ । सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा आर्जन लगायत लक्ष्य राखेर २०६० मा सेज अवधारणा अघि सारेको थियो । २०७१ मा पहिलोपटक उद्घाटन भएको भैरहवा सेजमा हाल ६ ओटा प्लट सञ्चालनमा छन् । जग्गाबाहेक रू. ८० करोड लगानी भएको उक्त भैहरवा सेजमा खाली रहेका प्लटमा पनि उद्योग स्थापनाका लागि प्राधिकरणले पुनः प्रस्ताव माग गरेको छ ।