काठमाडौं। कृषि विकास बैंकले घरघरमा डाक्टर प्रालिसँग व्यावसायिक सहकार्यको सम्झौता गरेको छ । कम्पनीका अध्यक्ष हेमा जिसी र बैंकका उप–महाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीका अध्यक्ष जिसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको बताइन् । यसको लाभ दुवै पक्षलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा सचेतना अभिवृद्धि गर्न सके नागरिकको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने उनले बताइन् ।
बैंकका उप–महाप्रबन्धक न्यौपानेले कम्पनीका देशभरि रहेका सेवाग्राही, कर्मचारीको बचत खाता, कर्जा, बैंक जमानत तथा प्रतीतपत्र सम्बन्धी कारोबार समेत बैंकले गर्ने गरी सम्झौता भएको बताए । सम्झौतामा बैंकले कम्पनीका सेवाग्राहीको रू. ५ लाख बराबरको दुर्घटना बीमासहितको बैंक खाता खोल्ने र कर्मचारीका लागि विनाधितो कर्जा दिने उल्लेख छ । यसका अतिरिक्त तलब खातामा बैंकले विभिन्न सेवामा छूट प्रदान गर्ने बताइएको छ ।