काठमाडौं । आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । नेपालसहित विश्वभर यो दिवस धुमधामसँग मनाइएको छ । सन् १९९० देखि हरेक वर्ष मनाइँदै आएको यो दिवसमा यस वर्षको नारा भने ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज, सम्भावनाका ढोका खोल्न सुनौं महिलाका आवाज’ तय गरिएको छ ।
सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरेपछि अर्काे वर्षदेखि विश्वभर यो दिवस मनाउन लागिएको हो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन यो दिवस मनाउने गरिन्छ ।
पछिल्लो जनगणना अनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार बढिसकेको छ । नेपालको जनगणना २०६८ अनुसार देशको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा १० वर्षमा त्यो संख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पनि २०७८ सालको जनसंख्याबारे विवरण विद्युतीय डिस्प्लेमा राखेको छ ।
२०७८ सालको जनसंख्या १९६८ सालको भन्दा २ करोड ३५ लाखभन्दा बढी हो । १९६८ साल अर्थात् पछिल्लो जनगणनाको ११० वर्षअघिको जनगणना अनुसार नेपालको जनसंख्या ५६ लाख ३९ हजार थियो ।
बढ्दो जनसंख्याका कारण सहरीकरण पनि बढेको छ । कुनै बेला जंगल रहेको काठमाडौं उपत्यका अहिले कंक्रिटको सहर बनेको छ ।
बढ्दो जनसंख्यासँगै सेवा सुविधाका कारण पहाडबाट तराईमा बसाइ सर्ने क्रम पनि तीव्र बढेको छ ।