असोज ६, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपणलाई संशोधन गरेको छ ।
एडीबीले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य नेपालले भेटाउन नसकेको तथा चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि यसअघि गरिएको प्रक्षेपण पनि पूरा गर्न नसकिने देखिएकाले लक्ष्य संशोधन गरिएको बताएको छ ।
एडीबीले नेपालका लागि चालू आर्थिक वर्ष २०७८र७९ का लागि यसअघि ५ दशमलव १ प्रतिशत वृद्धिदर प्रक्षेपण गरेको थियो तर त्यसलाई संशोधन गर्दै ४ दशमलव १ प्रतिशतमा झारेको हो ।
गत आर्थिक वर्षमा नियन्त्रित अवस्थामा रहेको मूल्यवृद्धि चालू आर्थिक वर्षमा भने बढ्ने अनुमान गरिएको छ । एडीबीले गत आर्थिक वर्षमा मूल्यवृद्धि ३ दशमलव ६ प्रतिशत बराबर रहेको र चालू आर्थिक वर्षमा यस्तो दर बढेर ५ दशमलव २ प्रतिशत पुग्ने अनुमान पनि गरेको छ । सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी एडीबीले नेपालमा चालू आर्थिक वर्षको शुरुवाति दिनहरुमा कोभिड–१९ महामारी संक्रमणदर उच्च नै रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको बताएको छ । साथै उसले नेपालमा कृषि, उत्पादन र उद्योग क्षेत्र बिस्तारै लयमा फर्किए पनि पर्यटन र सेवा क्षेत्रमा अझै महामारीको असर बाँकी रहेको उल्लेख गरेको छ ।
उसले स्वास्थ्य क्षेत्र, रोजगारी सृजना र सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकतामा राखे पनि त्यसको कार्यान्वयनमा देखिएको जटिलताले अर्थतन्त्रको वृद्धिदर खुम्चिएको पनि उल्लेख गरेको छ ।