भारतबाट आयात हुने तरकारीमा फरक विषादी : सीमाको उपकरण र विधिले पत्ता लगाउन सकेन

तरकारी फलफूलमा विषादी परीक्षण हुन थालेपछि नेपालगन्ज नाकाबाट आयात हुने तरकारीमा विषादी फेला पर्न छाडेको छ । भारतका तरकारी उत्पादक किसानले नेपालमा जाँच हुने उपकरण र त्यसले पत्ता लगाउने विषादी समूहका...

सम्बन्धित सामग्री

कालिमाटी तरकारी बजारले दिने संकेत

नेपालमा भारतबाट अत्यधिक मात्रामा तरकारी र फलफूल अयात हुन्छ भनेर धेरैले भन्ने गरे पनि तथ्यांकले तरकारीको आपूर्तिमा आन्तरिक उत्पादनको अंश नै बढी रहेको देखाएको छ । त्यस्तै नेपालका १९ जिल्लाबाट प्रमुख रूपमा तरकारी भित्रिएको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारत र चीनबाट पनि तरकारी र फलफूल आयात भएको देखिन्छ । यहाँ दैनिक ४ करोड रुपैयाँ बराबरको तरकारी कारोबार हुन्छ । यो थोक बजार भए पनि केही मात्रामा खुद्रा व्यापारसमेत हुने गरेको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । नेपालभित्रबाट तरकारी काठमाडौं ल्याउँदा ५ प्रतिशत कुहिएर खेर जाने गरेको छ । त्यस्तै खुद्रा व्यापारीले उपभोक्तासम्म पुर्‍याउँदा ८ देखि १० प्रतिशतसम्म तरकारी खेर जाने गरेको पाइन्छ । यस्तै किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रसम्म पुर्‍याउँदा पनि केही तरकारी खेर जान्छ । यी सबैलाई जोड्ने हो भने कुल उत्पादित तरकारीको झन्डै २० प्रतिशत कुहेर खेर जान्छ । यसको अर्थ तरकारीको भण्डारण गर्ने शैली र उपकरण राम्रो छैन भन्ने हो । यसरी तरकारी खेर जाँदा किसानलाई त क्षति हुन्छ नै यसको भार उपभोक्तामाथि पर्छ । त्यसैले यसमा देखिएको क्षतिलाई पूरा गर्न चिस्यान सुविधासहितको गाडी व्यवस्था गरिनुपर्छ । साथै, कालिमाटी तरकारी विक्री केन्द्रमा समेत यस्तो व्यवस्था गरिनु उपयुक्त हुन्छ जसको लाभ उपभोक्ता र किसान दुवैले पाउन सकून् । नेपालको तरकारी वितरण प्रणालीमा सुधार गर्ने हो भने किसान र उपभोक्ता दुवैले लाभ लिन सक्छन् । अर्को दूरदराजका क्षेत्रबाट समेत तरकारी ढुवानी सहज बनाउँदा आन्तरिक उत्पादन बढ्न सक्छ । यसको साथै भारतीय तरकारीमा अत्यधिक विषादीको मात्रा छ भनेर उपभोक्ताले गुनासो गरिरहेका बेला यथार्थ अलि फरक देखिएको छ । काठमाडौंको बजारमा नेपालको तरकारीको अंश ठूलो भएपछि विषादी पनि नेपाली उत्पादनकै बढी हुने भयो । त्यसैले भारतीय तरकारी विषादी बढी भएको भनेर भाषण गर्नुभन्दा समस्या यकीन गरी जनचेतना फैलाउनुपर्ने देखियो । तथ्यांकले भारतबाट आयात गरिने तरकारीमा मात्र होइन, नेपाली तरकारीमै विषादीको मात्रा बढी देखिएपछि विषादी प्रयोगको न्यूनीकरणमा तीन तहका सरकारले के काम गरेर बसेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपालमा विषादीको आयात बढिरहेको भन्सार विभागको तथ्यांकले पनि यसलाई स्पष्ट पार्छ । त्यसैले भारतबाट आयात गरिएको तरकारी मात्र होइन, आन्तरिक उत्पादनको समेत विषादी परीक्षण अनिवार्य गरिनुपर्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले यहाँ भित्रिने तरकारीका केही नमूनाको विषादी परीक्षण गर्ने गरेको छ । समितिले कार्बामेट र अर्गानोफस्फेट परीक्षण गरी त्यसको मात्रा जानकारी दिने गरेको छ । नेपालमा विषादीको विषयलाई लिएर बेलाबेला अनेक छलफल हुने गर्छन् । वास्तवमा यस्ता छलफलको आवश्यकता पनि छ, किनकि विषादीले मानव स्वास्थ्यलाई नकारात्मक असर गरेको हुन्छ । तर, त्यसमा समस्या बाह्यभन्दा आन्तरिक नै रहेछ भन्ने कुरा बुझ्न ढिला भइसकेको रहेछ । त्यस्तै, ताजा तथ्यांकले नेपाल तरकारीमा आत्मनिर्भर बन्न सक्ने सम्भावनासमेत देखाएको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । यति मात्र होइन, काठमाडौंमा तीव्र घडेरीकरणका कारण कृषियोग्य जमीनको अभाव भएको भनिए पनि तरकारी आपूर्तिमा उपत्यकाको अंश ठूलै देखिन्छ । त्यस्तै तरकारी बिकेन भनी सडकमा फाल्ने गरिएको चितवनको अंश भने अहिलेको यामको तथ्यांकमा ज्यादै कम देखिन्छ । यी तथ्यांकलाई राम्ररी विश्लेषण गर्दा नेपालको तरकारी उत्पादन र आपूर्तिका बारेमा प्रचलित विश्वास अमिल्दो देखिन्छ । यद्यपि काठमाडौंमा हुने तरकारी आपूर्ति सबै कालिमाटीमार्फत हुँदैन । बल्खु तरकारी बजार, माछापोखरीलगायत उपत्यकामा रहेको कैयौं तरकारी बजारमा सीधै तरकारी आयात हुने गरेको छ जहाँ विषादी परीक्षण लगायतको काम हुने गरेको छैन । तिनको पनि तथ्यांक हुने हो भने तरकारी आपूर्तिबारे धेरै तथ्य निक्लन सक्छ ।