जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ ।
साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ ।
आजको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।