मन्त्री मगर बल्ल निर्मलाका आफन्तलाई भेट्न गृहजिल्लामा

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त परिवारसँग भेट गरेकी छन् । घटना भएको एक महिनापछि मन्त्री मगरसहितको टोली पन्तको परिवारलाई भेटेको हो ।    मन्त्री मगरले स्थानीय सुरक्षा ...

सम्बन्धित सामग्री

सत्ताको लड्डु

‘आगराको लड्डु, खाए पनि पछुताउने, नखाए पनि पछुताउने’ भन्छन् । तर, सत्ताको लड्डु खान पाउनुभयो भने कहिल्यै पछुताउनुपर्दैन । खान नपाए चाहिँ पछुताउने मात्र होइन, अरूलाई पछार्नेसम्मका काम गर्न पछि हट्दैनन् हाम्रा सांसद र अरू नेताहरू । त्यही भएर त प्रधानमन्त्रीले सबैलाई लड्डु चखाउन मन्त्रिपरिषद्मा फेरबदल गरिरहन्छन् । तर हाम्रा कतिपय मन्त्री कति उदार छन् भने नयाँलाई सत्ताको स्वाद चखाउन प्रधानमन्त्रीको खल्तीमै राजीनामा राखिदिन्छन् । स्वाट्ट एउटालाई हटायो, अर्कालाई ल्यायो, सांसद नभए निर्वाचन क्षेत्र खाली गराएर उपनिर्वाचन गराएर भए पनि मन्त्री पदको कोसेली टक्र्यायो । यस्तो महान् तथा उदार प्रधानमन्त्री र सांसद कतै देख्नुभएको छ ? स्थिरताको नारा दिएर प्रधानमन्त्री बनेकाले होला प्रधानमन्त्रीले बेलाबेलामा नयाँ नयाँ मन्त्रीलाई सरकारमा ल्याएर सरकारलाई स्थिरता दिने प्रयास गरिरहन्छन् । सांसदको मन अस्थिर हुन्छ । तिनलाई मन्छाउन वा पन्छाउन मन्त्री बनाउनैपर्छ । तिनको मन स्थिर पारेपछि पो सरकार पनि स्थिर हुन्छ । त्यही भर त प्रम भएभरको बल बुद्धि लगाएर सरकारलाई स्थिरता दिने धुनमा लागेका देखिन्छन् । तर मन्त्रीहरू चाहिँ केकेमा लागेका छन् अलि बुझ्न गाह्रो भएको छ । अरू मन्त्री पनि पक्कै केही न केही काम लाग्ने कुरामै लागेका होलान् । बैंकको लकरमा बन्दुक राख्नेलाई शान्ति धाममा पठाउन सक्ने सामथ्र्य पनि मन्त्रीसँग छ । तर बहालवाला र त्यो पनि सत्तारूढ दलका कतिपय सांसदहरू भने वर्तमान मन्त्रीहरूलाई नै भ्रष्टाचारमा डुबेको भनेर आरोप लगाइरहेका छन् । प्रतिपक्षका सांसदहरूले त भ्रष्टाचार भइरहेको छ भन्ने नै भए । हुन पनि देशका प्राय: मन्त्री बनेकाहरूको विगतको गतिविधि र अहिलेको सम्पत्ति हेर्दा त्यस्तै देखिन्छ पनि । त्यसैले मान्छेहरू नेता, मन्त्रीहरूलाई भ्रष्ट, चोर, लुच्चा, लफंगा, डाँका, बदमास आदि के के भन्छन् भन्छन् । तर नेता, मन्त्रीहरूलाई त्यत्रो विशेषण लाउनै पर्दैन नि । केवल नेता भने त पुगिहाल्छ नि । जे होस्, कोही पनि मन्त्री बनेको खबर सुन्नासाथ मन्त्री बन्ने मान्छेको अनुहार तथा हाउभाउ प्रफुल्ल र दिव्य देखिन्छ नै, साथै मन्त्रीका परिवार, आफन्त र वरिपरिकाहरूको अनुहारमा समेत एक विशेष प्रकारको चमक–धमक स्पष्ट देख्न सकिन्छ । अझ मन्त्री बनाउने दलका शीर्ष नेता तथा कार्यकर्ताको अनुहार त धपक्क बलिरहेकै हुन्छ । शायद कुनै ठूलै उपलब्धि हात पार्ने आशले होला । मन्त्री बनेपछि प्राय: मन्त्रीका आँखामा सत्ताको लड्डु खाने सपना तैरिइरहेको देख्न सकिन्छ । आहा ! सत्ताको रसिलो लड्डु मनमा आउनासाथ मन्त्रीजीका अनुहारमा आनन्द प्रकट हुन थालिहाल्छ । जस्तो, मरन्च्यासे भए पनि बालुवाटार छिरेपछि त्यहाँको सत्ताको रापतापले रातापिरा भइहाल्छन् । हेर्नोस्, त भूपू प्रमहरूलाई ! कुर्सीमा बस्नासाथ प्राय: मन्त्रीको मनोदशा यस्तो देखिन्छ कि मन्त्रीका शरीरका प्रत्येक अंग वास्तवमा केवल जिब्रा हुन्, जो सत्ताको लड्डुको स्वाद चाख्न लालायित भएर तड्पिइरहेका छन् । किनकि मातहतका विभाग, कार्यालयमा दिनदहाडै हुने भ्रष्टाचारको लड्डु खानुको मजै बेग्लै हुन्छ । म सोच्थेँ, कि एउटा सिंगो दलबाट जाबो एकजना मन्त्री बन्दा पार्टीभित्र यति धेरै उत्साह आउनुमा के कारण हुन सक्ला । तर एउटै हनुमान् लंका जलाउन काफी हुन्छ भनेझैं एउटै मन्त्रीले पनि उसको दलको र दलको नेताको श्रीवृद्धिमा भयंकर भूमिका खेल्न सक्छन् भन्ने कुरा बल्ल पो बुझ्दै छु । अमृतभन्दा मिठो, चन्द्रमा भन्दा शितल सत्ता लड्डु भक्षणको सुगन्धित महकयुक्त वासनाले मात्र पनि मन्त्री महोदयको हृदयका समस्त दु:खहरू हरण गर्न सक्छ । त्यसैले मन्त्रीजी कुर्सीबाट उठ्नेसम्म सोच्दैनन् । आफ्नै कुर्सीमा बसी बसी आफूलाई भेट्न आउने प्रत्येक दलाल महोदयलाई सोध्छन् – ‘अनि नयाँ खबर के छ सुनाउनुस्, मेरो परम प्रिय लड्डु कहिले आइपुग्छ रहस्य खुलाउनुुस् ।’ आश्चर्य त यो लाग्छ कि यति शुभ समाचार सुनाउने दलाल महोदयसँग एकअर्कासँग कुनै अभिवादन आदान प्रदान गर्नेसम्म होश हुँदैन । शायद मीठो मिठाईको कल्पनामा मन्त्रीजीका सम्पूर्ण इन्द्रियहरूले होश गुमाइसकेका हुन्छन् । न त उनको नेत्रले काम गर्छ, न नाक र कानले । उनका आँखाबाट हर्षका आँशु बगिरहेका हुन्छन् र उनका शरीरका प्रत्येक छिद्र छिद्रहरू मिठो लड्डुको स्वाद लिनका लागि लालायित बनेका देखिन्छन् । भ्रष्टाचारको यो पावन महाकल्पमा कमिशन शब्द सुन्नासाथ संगीतको नाद सुनेसरी मन्त्रीजी एकाएक आनन्दित हुन्छन् । मंगलमय, रसमय, समस्त सन्ताप हरण गर्ने कमिशन नामक लड्डु । कुर्सीमा बस्नासाथ प्राय: मन्त्रीको मनोदशा यस्तो देखिन्छ कि मन्त्रीका शरीरका प्रत्येक अंग वास्तवमा केवल जिब्रा हुन्, जो सत्ताको लड्डुको स्वाद चाख्न लालायित भएर तड्पिइरहेका छन् । किनकि मातहतका विभाग, कार्यालयमा दिनदहाडै हुने भ्रष्टाचारको लड्डु खानुको मजै बेग्लै हुन्छ । सपनामा मन्त्रीजी रसगुल्ला, दूध–मलाई, छप्पन्न भोग अर्थात् लड्डु खाएको देख्छन् । विपनामा त्यही नपाउँदा पीडा हुन्छ उनलाई । अर्ध–मूच्र्छित हुन्छन् उनी । मन्त्रीजीको यस्तो अवस्था देख्न सक्दैनन् दलाल महोदय । त्यसैले दलाल देउता मन्त्रीजीलाई लड्डु व्यवस्था गर्नतिर दौडधुप गरिरहन्छन् । हो सांसद, मन्त्रीजी सत्ताको लड्डु खान आतुर छन्, आकुल व्याकुल छन् । वर्षौंदेखि खाँदै आइरहेका पनि छन् । यसरी नै खाइनै रहेछन् त्यो पवित्र लड्डु । खान नपाए अनेक वितण्डा मच्चाउन थाल्छन् । संसद् नै ठप्प पार्न सक्छन् । कुनै अनर्थ हुन नदिने हो भने हामी सबैले मिलेर हाम्रा सांसद र मन्त्रीजीलाई निरन्तर कुनै लड्डुको व्यवस्था गरिरहनुपर्छ । तपाईं पनि हाम्रा मन्त्रीजीलाई कुनै लड्डु व्यवस्था गर्न सक्नुहुन्छ कि ?

यस्तै रहेछ यहाँको चलन

देशमा धेरै दलको गठबन्धनको सरकार छ, मन्त्री थपिएका थपियै छन् । तर पनि सरकार पूर्ण छैन । देश बिरामी छ तर वैद्यखानामा ओखतीको चूर्ण छैन । सरकारमा पुग्नेहरू धेरैजसो सडेका छन् । त्यसैले त जनताका गुनासा पनि दिनप्रतिदिन बढेका छन् ।  धारा छन्, त्यसमा पानी छैन । ह्यान्डपम्प छन् । तर ती चल्दैनन् । बिजुलीपम्प पनि छन् । तर बिजुली छैन । विभाग छन् । काम गर्दैनन् । फोन लगायो, लाग्दैन । लाग्यो, उठ्दैन । हाकिमहरू छन् । तर छुट्टीमा छन् । सहायक छन् । तर उनलाई थाहा छैन । गुनासो गरौं, सुन्ने कोही छैन । आवेदन दिइएको थियो । तर स्वीकृत भएन । रिपोर्ट लेखाइएको थियो । तर त्यसबाट केही भएन । योजना स्वीकृत भयो, तर बजेट स्वीकृत भएन । बजेट स्वीकृत भयो, तर पैसा स्वीकृत भएन । पदहरू छन् । तर हिजोआज खाली छन्, न्यायालयदेखि औषधालय वा विश्वविद्यालयसम्म । भरिएका ठाउँमा धेरैजसो जाली मात्रै छन् । पद बहाली भएका ठाउँमा दलका झोलेहरूकै हालीमुहाली छ । योग्य र जी हजुरी गर्न नजान्ने कर्मचारी सरुवा हुन्छन् । मन्त्री ठीक छन्, सचिव ठीक छैनन् । सचिव ठीक छन्, मन्त्री बेठीक छन् । दुवै ठीक भए मातहतका कर्मचारी ठीक छैनन् । मातहतका कर्मचारी ठीक भए हाकिम ठीक छैनन् । सबै ठीक भए माथिबाट आदेश आउँदैन । आदेश आयो भने सोध्छन् ‘यो काम गरेर हाम्लाई के फाइदा रु’ फाइल टेबलमै हुन्छ तर हस्ताक्षर हुँदैन । फाइल सदर गराउन धाउँदा धाउँदा हाकिम बल्लतल्ल मञ्जुर हुन्छन् । तर तबसम्म उनको त्यहाँबाट अर्को विभागमा सरुवा भैसकेको हुन्छ । बल्ल कुरा बुझ्ने अनुभवी खास हुन्छन्, त्यतिबेलासम्म उनीहरू अवकाश हुन्छन् । मेशिनै छैन, टेक्निसियन छन् । मेशिन आउँछ, चलाउन जान्ने हुन्नन् । किनकि मेशिन चलाउन होइन, कमिशन तह लाउन किनिएको हुन्छ । त्यसको पनि रेट हुन्छ, जुन बजेट बनाउने बेलामै सेट हुन्छ । अन्तमा मेशिन बिग्रन्छ । अनि फेरि अर्को मेशिन किन्ने प्रक्रिया शुरू हुन्छ ।  उद्योग त छन्, तर कामदार छैनन् । कामदार पाइयो भने बिजुली पाइँदैन । बिजुली आयो भने तार खराब हुन्छन् या स्विचले काम गर्दैन । जसोतसो उत्पादन हुन्छ, विक्री हुन्न । जसको माग छ, त्यसको आपूर्ति छैन । जसको आपूर्ति छ, त्यसको माग छैन । माग पनि भयो, सामान सप्लाई पनि भयो पेमेन्ट आउँदैन । इमेल लेख्यो वा फोन गर्‍यो जवाफ आउँदैन । अफिसमा भेट्न पठायो भेट पाइँदैन । गुनासो गरौं, तर कोही सुन्नेवाला कुनै निकाय छैनन् ।  यात्री लाइनमा छन्, टिकट पाइन्न । टिकट पाइयो भने सिट पाइँदैन । सवारी पाए पनि समयमा चल्दैन । सेवाका लागि अनलाइन छ, साइट खुल्दैन । साइट खुल्छ अनलाइनको टाइम हुन्न । प्रिन्टर हुन्छ, कार्ड हुन्न । कार्ड आउँछ प्रिन्टर हुन्न । जब दुवै हुन्छ, सर्भर डाउन हुन्छ ।  कर्मचारी कर्मचारी जस्ता छैनन्, मन्त्री मन्त्री जस्ता छैनन् । सरकारहरू सरकारजस्ता छैनन् । नेता छन् । नेतृत्व छैन । तैपनि भेट्न खोज्यो पाइन्न । भेट्यो सुन्दैनन् । सुने पनि मनमा केही गुन्दैनन् । शिलान्यास हुन्छ । अब केही होला कि भन्ने आश हुन्छ । तर निर्माण हुँदैन । केही निर्माण पनि हुन्छन् । तर प्रयोग नभई थोत्रिन्छन् । देशैभरि स्कूल छन्, तर किताब छैनन् । कलेज पनि छन् । तर त्यहाँ भनेजस्तो नलेज पाइन्न । राम्रामा सजिलै भर्ना गर्न ठाम पाइन्न । नराम्रामा पढेर काम पाइन्न । जसोतसो प्रमाणपत्र हात पर्छ, तर जागीर हात पर्दैन ।  खबर भनेर विश्वास गर्‍यो, अफवाह निक्लन्छन् । अफवाह ठान्यो खबर पो हुन्छ । अपराध हुन्छन्, अपराधी पत्ता लाग्दैनन् । पत्ता लाग्यो भने पनि प्रमाणित हुँदैनन् । प्रमाणित भए पनि सजिलै छुट्छन् । कृषकले खोजेको मल बजारमै आउँदैन । आयो भने पनि धेरैले पाउँदैनन् । किसानले बीउ पाउँदैनन्, पाएको बीउमा दाना लाग्दैनन् । दाना लागेछ भने पनि बेच्न बजार छैन । बेच्न पायो नाफा छैन । कृषिमा अनुदान छ, तर किसानले पाउँदैनन् । अनुदान पाउनेले खेतीकिसानी नै गर्दैनन् । हिजोआज देशमा चलचित्र धेरै बन्छन्, तर चल्दैनन् । प्रोड्युसरले दर्शक बुझ्दैनन्, दर्शकले चलचित्र बुझ्दैनन् ।  उद्योग गर्न ऋणका लागि बैंक धायो । ऋण मिलाइदिनेलाई कमिशन खिलायो । ताकेता गर्दा गर्दा जब पू्ँजी जुट्छ, त्यतिबेलासम्म सबै थोकको बढेको भाउले उद्यमीको पसिना छुट्छ । त्यति लामो समय कुरेर उद्योग गर्न योग्य रहन्न । अझ उद्योग खोल्न भन्दा जग्गा खोज्न महाभारत । बेच्नु छ, तर खरीदकर्ता भेटिन्नन् । किन्न मन छ, तर धेरै महँगो धन छ ।  मानिस त छन् । तर मनुष्यता रहेन । देश आफ्नै हो, तर देश चलाउनेहरू आफ्ना रहेनन् । त्यसैले देश त छ, तर देशमा बस्नेहरू नरहने भए । बस्न चाहनेहरू देशमा टिक्न नसक्ने भए । योग्यहरू बिक्न नसक्ने भए ।   एउटालाई बनाउन हतार छ, अर्कोलाई बिगार्न । एउटालाई टाल्न हतार छ, अर्कोलाई भत्काउन । खै के भएको हो, के नभएको हो । कस्तो अचम्मको देश बनाएको हो रु के के कता कता जेलिएको, को कता किन होला अल्झिएको रु न छेउको भेउ, न टुप्पो । तपाईं पनि यो भएन र त्यो भएन भनिरहनु हुन्छ नि, हैन रु तर हजुर ⁄ धेरै थोक पो छन् त देशमा । तपाईंहरूलाई थाहा छैन र रु देशमा कुराहरू हुन्छन् नै यसकारण कि त्यसमा ती कुरा हुँदैनन्, जसका लागि ती बनेका वा बनाइएका हुन्छन् । यस्तै त छ यहाँको चलन । बुझ्नुभो नि ?

एक सचिवको आत्मकथा

अहिले मन्त्रालयमा मन्त्री छैनन्। मेरो मन्त्रालयको विभागीय मन्त्री पनि प्रधानमन्त्री देउवा नै हुन्। त्यसैले उनलाई भेट्न गइरहनुपर्छ। बालुवाटार जाने क्रममा सबैभन्दा दिक्क मूल ढोकामै हुन्छ। त्यहाँ बसेका सुरक्षाकर्मीलाई आफू मन्त्रालयको सचिव भएको बताएपछि बल्ल भित्र जान पाइन्छ।