रौतहट। चल्ला उत्पादन गर्ने (ह्याचरी) उद्योग सञ्चालन गरेर रौतहट फतुवा विजयपुरका एक युवा नाम र दाम कमाउन सफल भएका छन् । फतुवा विजयपुर नगरपालिका–८ मा स्थानीय अबरारुल हकले तीन वर्षअघि ह्याचरी उद्योग खोलेका थिए । यसअघि लामो समय पोल्ट्री व्यवसायमा संग्लन उनी त्यसबाट अपेक्षित कमाइ नभएको भन्दै ह्याचरी उद्योगमा लागेका हुन् । अहिले यस उद्योगबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको उनले बताए । अबरारुलको ह्याचरीबाट हाँस, बट्टाई, टर्की र कुखुराका चल्ला उत्पादन हुने गरेको छ । ‘कुखुरापालनबाट भन्दा पनि ह्याचरीबाट राम्रो आम्दानी भएको छ,’ उनले भने । चल्ला उत्पादनबाट आफूले मासिक १ लाखदेखि २ लाख रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए । आफ्नो ह्याचरीबाट उत्पादित चल्ला बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषासम्म विक्री हुने गरेको उनले बताए ।
कासमी कृषि तथा पोल्ट्री प्रालि नाममा सञ्चालित उनको ह्याचरीमा तीनजना कामदार र १२ जना बजार प्रतिनिधि छन् । रू. ४ लाख लगानीमा शुरू गरेको उद्योगको वार्षिक कारोबार रू. ४० लाखसम्म हुने गरेको उनले बताए । ‘२०६३ सालदेखि कुखुरापालन व्यवसायमा लागेँ,’ उनले भने, ‘यसबाट नाफा लिन नसकेपछि ह्याचरीमा लगानी गरेको हुँ ।’ यो उद्योग सञ्चालनका लागि आफूले बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिएको र आम्दानीको रकम बचत गर्ने गरेको उनले बताए । फतुवा विजयपुर नगरपालिकाबाट अनुदान सहयोग पाएको भए पनि प्रदेश र संघीय सरकारबाट नपाएको अबरारुलको गुनासो छ । फतुवा विजयपुर नगरपालिका, पशु सेवा शाखाका प्रमुख दयाराम यादवले यस वर्ष पोल्ट्री किसानका लागि केही कार्यक्रम नभए पनि माछापालक किसानका लागि अनुदान रहेको बताए । गत आर्थिक वर्षमा ह्याचरी उद्योगका लागि क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम आए पनि फ्रिज भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गौरका सूचना अधिकारी जादोलाल साहले जानकारी दिए ।