भदौ १६, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट मंगलवार थप ४१ हजार ९६५ जना संक्रमित भएका छन् ।
सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ४ लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय बताएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका संक्रमितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना संक्रमित भएको अधिकारीले बताएका छन् । सोही अवधिमा केरलामा ११५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कुल ३ करोड १९ लाख ९३ हजार ६४४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । भारतमा कोरोना संक्रमितको कुल संख्याको ९७ दशमलव ५१ प्रतिशत कोरोना संक्रमणबाट निको भएका छन् ।
भारतमा अहिलेसम्म कुल संक्रमित ३ करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधवार बताएको छ । कुल संक्रमितमध्ये ३ लाख ७८ हजार १८१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल संक्रमितमध्येको १ दशमलव १५ प्रतिशत हो ।
भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ जनालाई कोरोना भाइरसको परिक्षण गरिएको छ । मंगलवार एकै दिनमा १६ लाख ६ हजार ७८५ जना कोरोना परिक्षण भएको समाचारमा बताइएको छ ।
यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा बताइएको छ । गत अगस्तभर मात्र १८ करोड ३ लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस/ एएनआई