काठमाडौं । नेपाल हस्तकला महासंघले आर्थिक वर्ष २०८०/८१ को बजेटले निजीक्षेत्रको मनोबल उच्च पारेको बताएको छ । दिगो एवं फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट लक्षित रहेको महासंघको धारणा छ ।
महासंघले सरकारी र निजीक्षेत्रको सहकार्यमा उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर वृद्धि गर्न बजेटले उठाएका विषय सकारात्मक भएको बताएको हो । स्वदेशी श्रम र कच्चा पदार्थमा आधारित अधिकतम मूल्य अभिवृद्धि हुने हस्तकलाका वस्तुको आन्तरिक खपत तथा बजार प्रवद्र्धनका लागि नेपाल सरकारले उक्त वस्तुहरू प्रयोग गर्ने व्यवस्था भएमा हस्तकला आन्तरिक बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने महासंघको सुझाव छ ।
हस्तकला क्षेत्रमा रहेका परम्परागत शीप तथा प्रविधि संरक्षण गर्न नयाँ पुस्तामा उक्त शीप तथा प्रविधि हस्तान्तरण गनुपर्ने महासंघले बताएको छ । यसका लागि आवश्यक तालीम सञ्चालन गर्न बजेट विनियोजन गरिनुपर्ने महासंघको माग छ ।