देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा झन्डै २३ प्रतिशत अंश ओगटेको विप्रेषण आयात घट्दा अर्थतन्त्रका अवयवमा समस्या थपिएका छन् । अर्थशास्त्री र विश्लेषकहरूले विप्रेषण आय दिगो नहुने हुँदा विकल्प खोज्न ढिला गर्न नहुने सुझाव दिँदै आएका छन् । तर, सरकार देशभित्रै रोजगारी सृजना गर्ने नारामा मात्र रमाइरहेको छ । यसले गर्दा बेरोजगार युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
नेपाल विप्रेषण आय उच्च दरमा भित्र्याउने मुलुकमध्ये एक भए पनि यसको अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन सकेको छैन, उत्पादनमूलक गतिविधि पनि बढ्न सकेको छैन ।
स्वदेशमा रोजगारी वृद्धिका लागि सन् २००६ को नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री एडमन्ड फेल्प्स्ले दिएको सुझावलाई कार्यान्वयन गर्न सक्दा धेरै उपलब्धि हात पर्छ । श्रमिकले स्वदेशमा काम गर्न सक्ने अवस्था सृजना हुँदा आत्मसम्मानमा वृद्धि हुन्छ । सामाजिक समस्या कम हुन्छन् । उनीहरूले उत्पादित गरेको वस्तु विदेशमा पठाउन सक्दा विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन्छ । तर, नेपालमा भने उल्टो भइरहेको छ । श्रम बजारमा प्रवेश गर्नेजति युवा वैदेशिक रोजगारीमा जाँदा स्वदेशमा श्रमिक पाउन नसक्ने अवस्था आएको छ । ‘म्यानुफयाक्चरिङ’ र कृषिक्षेत्रले पर्याप्त श्रमिक पाउन नसक्ने अवस्था आएको छ । श्रमिक नै नपाएपछि उत्पादन वृद्धि हुने कुरै भएन ।
तत्काललाई हेर्दा नेपाल विप्रेषण आय उच्च दरमा भित्र्याउने मुलुकमध्ये एक भए पनि यसको अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन सकेको छैन, उत्पादनमूलक गतिविधि पनि बढ्न सकेको छैन । त्यसैले नेपालले वैदेशिक रोजगारी सम्बन्धी नीतिमा व्यापक पुनर्विचार गर्नु आवश्यक छ ।
पहिलो त नेपाली कामदारलाई कस्तो मुलुकमा पठाउने, कस्तो जनशक्ति पठाउने भन्ने नीतिमै ध्यान दिनुपर्ने देखिन्छ । वर्षेनि करिब ५ लाख श्रम बजारमा प्रवेश गर्छन् जसमध्ये सरकारी र निजी सबै गरेर ५० हजार जतिलाई मात्रै स्वदेशमा रोजगारी दिन सकिने अवस्था छ । बाँकी सबै वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता छ तर मुलुकले उच्च दक्षता भएका र सामान्य दक्षता भएका बाहेकलाई अन्य देशमा काममा पठाउनु हुँदैन । यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश थोरै पारिश्रमिक पाउने काममा जाने गरेका छन् । यसले गर्दा नेपाली युवाको मेहनत बालुवामा पानी हालेजस्तो भइरहेको छ । त्यसैले उच्च आय गर्न नसक्ने जनशक्तिलाई यहीँ रोकेर तालीमसहित रोजगारी उपलब्ध गराउनुपर्छ । वैदेशिक रोजगारीका लागि गएकामध्ये ९० प्रतिशत खाडी मुलुकमा पुगेका छन् जहाँको रोजगारी जोखिमपूर्ण छ र अदक्ष भएकै कारण उनीहरूले प्राप्त गर्ने ज्याला पनि निकै कम छ । नेपालमा दैनिक ज्याला नै अहिले करीब रू. १ हजार वरिपरि भएको अवस्थामा मासिक रू. ३५ हजार कमाउन नेपालीहरू खाडीको गर्मीमा ज्यान जोखिममा राखेर दिनरात खटिरहेका छन् । यस्तो श्रम बेचेर मुलुक उँभो लाग्दैन भन्ने हेक्का नीतिनिर्माताहरूले लिन जरुरी छ ।
कुनै पनि अर्थतन्त्र एउटै मात्र आयमा कहिल्यै पूर्ण निर्भर हुनु हुँदैन । त्यो क्षेत्रमा समस्या आउनासाथ पूरै अर्थतन्त्र ध्वस्त हुन सक्छ । यसलाई अर्थतन्त्रमा डच रोग भनिन्छ । यो डच रोगबाट बच्न पनि विप्रेषण आयको विकल्प खोज्न अबेला भइसकेको छ ।
नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । अर्थात् काम गर्न सक्ने जनशक्ति अत्यधिक भएको मुलुकमा परेको छ । तर, हालै राष्ट्रि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकले अबको एक डेढ दशकमा यो संख्यामा निकै कमी आउने र काम गर्न नसक्ने उमेर समूहको संख्या बढ्ने स्पष्ट संकेत गरिसकेको छ । जुनसुकै देश विकसित भएपछि यस्तो अवस्थामा पुगेको पाइन्छ तर नेपाल अविकसित अवस्थामै यस्तो अवस्थामा पुग्यो भने अर्थतन्त्र झनै कहालीलाग्दो हुन सक्छ ।
नेपालजस्ता गरीब मुलुकले यस्तो अवस्था कुनै पनि हालतमा थेग्न सक्दैन । अत: विपे्रषणको विकल्प केके हुन सक्छन् त्यसको अध्ययन गरेर तिनको कार्यान्वयन गर्न विलम्ब गर्नै हुँदैन । र, कुनै पनि मुलुकका लागि वैदेशिक रोजगारी दीर्घकालसम्म उपयुक्त हुँदैन भन्नेबारे बुझ्न आवश्यक छ ।