एएसजी आइ केयरमा एक महिने  निःशुल्क आँखा जाँच तथा उपचार सेवा

एक महिनासम्म  आँखा जाँच एवम् परामर्श सेवा उपलब्ध गराइएको छ। अस्पतालका डाइरेक्टर डा सीबिन ढकालले एएसजी आई केयरमा मोतिबिन्दु शल्यक्रियाको साथै टाढा नजिक दुवैका लागि चश्मा हटाउन मल्टिफोकल वा टोरिक लेन्सद्वारा सम्भव हुने बताए। साथै बिना सुई, बिना पट्टी फेको विधिद्वारा मोतिबिन्दुको शल्यक्रिया गरिने ढकालले जानकारी दिए।

सम्बन्धित सामग्री

पुनः दृष्टि फर्किदा संसारै जितेजस्तो लाग्यो ...

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । डोटीका दुई र अछामको एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको थियो । ती आँखा शिविरमार्फत १ हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ । पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ ।  अस्पतालको नेत्र अधिकृत नरेन्द्रराज विष्टले यही जेठ १५ र १६ मा गते डोटीको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए।   त्यस्तै डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ मा सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएकोे उनले बताए । त्यसैगरी यही जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले ती आँखा शिविरमा न्यूनदृष्टि देखिएका चार सय ५२ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझीलगायत १४  प्राविधिकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीले आफ्नै घरआँगनमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । सङ्घअन्तर्गत सञ्चालित गेटा आँखा अस्पतालले सुदूरपश्चिमा थप तीन ‘सेकेन्डरी लेभल’का आँखा अस्पताल, दुई ‘सर्जिकल सेन्टर’ तथा १७ आँखा उपचार केन्द्रमार्फत यस क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । अस्पतालको सेवा सुलभ र गुणस्तरीयसमेत भएकाले छिमेकी देश भारतका नागरिकसमेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने जनाइएको छ ।  अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थासँगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहँुच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

हिमाली जिल्ला मुगुमा निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति

काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई ओटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरू आयोजना गरिएको हो । उक्त दुई ओटा आँखा शिविरमार्फत १ हजार १ सय १८ जना बिरामीहरूको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रियासमेत भएको छ । उक्त शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् । चैत १५ गतेदेखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्ये  मोतिबिन्दु देखिएकोमा ६५ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । त्यस्तै मुगुकै खत्याड गाँउपालिकामा चैत २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतिबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरीसमेत गरिएको थियो । दुई ओटै शिविरमार्फत ४८४ जना बिरामीहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहिन बस्न नपरोस् भन्ने हेतुले संघले देशैभर निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।   मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ । मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्छ । तर, पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य काममा फर्कन सक्छन् । नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभर निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेत्रज्याति संघले हाल देशभरमा २७ ओटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरूमार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।