काठमाडौं। श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको तलब बढाएको छ । मन्त्रालयले हालै राजपत्रमा सूचना प्रकाशित गरी साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको तलब बढाएको हो । चिया बगानमा काम गर्ने र चिया बगानबाहेकका क्षेत्रमा काम गर्ने श्रमिकको तलब फरक अंकले बढाइएको छ ।
चिया बगानमा काम गर्ने श्रमिकको तलब मासिक १३ हजार ८९३ रुपैयाँ पुर्याइएको छ, जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ रुपैयाँ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ तोकिएको छ । ज्यालादारीमा काम गर्ने चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक पनि ५०० रुपैयाँ पुर्याइएको छ, जसमा आधारभूत ज्याला ३२३ रुपैयाँ र महँगी भत्ता १७७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी प्रतिघण्टा काम गर्दा ६६ रुपैयाँ दिनुपर्ने मन्त्रालयले बताएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ तोकिएको छ । अन्य क्षेत्रमा काम गर्ने श्रमिकको तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकिएको छ, जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ तय गरिएको छ ।
दैनिक काममा लगाउँदा श्रमिकको पारिश्रमिक ६६८ रुपैयाँ तोकिएको छ । यसमा आधारभूत पारिश्रमिक ४१८ रुपैयाँ र महँगी भत्ता २५० रुपैयाँ तय गरिएको छ । घण्टाको हिसाबले काममा लगाउँदा प्रतिघण्टा ८९ रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ । यससँगै आंशिक समय मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ ।
सरकारले तोकेभन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने भएको छ । यससँगै नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यस्तै, स्थानीय सरकार तथा अन्य निकायले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा योभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने सूचनामा उल्लेख छ ।