काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरी अस्वस्थ हुनुभएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
निमोनिया र दमबाट पीडित नेता गिरी हाल कोरोना संक्रमित हुनुभएको छ । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो ।
पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो । त्यस अघि उहाँको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो ।
त्यहाँ उहाँको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको नेता गिरीका छोरा प्रविन गिरीले जानकारी दिनुभयो । उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै प्रविनले युगदर्शनसँग भन्नुभयो, ‘अवस्था अलि गम्भीर नै छ । तर डाक्टरले हिजो भन्दा आज केही सुधार भएको छ भनेका छन् ।’
स्वासप्रश्वसमा समस्या भएपछि गिरीलाई बेहोस बनाएर उपचार भइरहेको बुझिएको छ । उहाँको हिजो (बुधबार) डायलासिस गरिएको छ । त्यसको रिपोर्ट आज आउने बताइएको छ ।