काभ्रेपलाञ्चोक । कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्ला काभ्रेमा बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । उपत्यकासहित केही जिल्लामा बर्ड फ्लु देखिएपछि काभ्रेले मुख्य नाकामा पक्षीको चेकजाँचलाई कडाइ गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद साहले उत्पयका प्रवेश नाका साँगा र पूर्वी जिल्ला प्रवेश गर्ने मुख्य नाका बीपी राजमार्गको मंगलटारमा पक्षीको चेक प्वाइन्ट राखिएको बताए । बनेपा नगरपालिकाले पक्षीमा लाग्ने संक्रमण रोगका विषयमा सरोकारवालासँग गरेको कार्यक्रममा उनले मंगलटारमा दुई कर्मचारी चेकजाँचका लागि राखेर काम सुरु भएको बताए ।
माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड फ्लु चितवन र काठमाडौं जिल्लामा समेत फेला परेको छ । बनेपा नगरपालिकालका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा प्रवेश गर्ने साँगा मात्र चेकजाँच गर्दा अन्यत्रबाट समेत पक्षी ओसारपसार हुने भन्दै नाला, आशापुरीलगायत क्षेत्रमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइनुपर्ने बताए । रासस