सप्तकोशी बैंक अनियमितता प्रकरण : सीईओसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर (अस) । प्रहरीको लामो समयको अनुसन्धानपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको छ । ‘बैंकिङ कसुर’मा सुवेदीसहित ९ जना कर्मचारी र तीन खातावालाविरुद्ध मंगलवार मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमाल भट्टराईसहित १२ जनाविरुद्ध उच्च अदालतको वाणिज्य इजलाशमा मुद्दा दर्ता भएको हो । सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख ५७५ रुपैयाँ बैंकलाई भराइदिनुपर्ने र प्रतिवादीलाई जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैदको सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता काफ्लेले जानकारी दिए । सरकारी वकिलको कार्यालयले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेलसहित फरार रहेकाहरू बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बंैकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट तथा सूचना अधिकारी ओमराज सुवेदीले बैंकिङ कसुरमा मुद्दा दर्ता भएकाले बुधवार इजलाशमा प्रतिवादीको बयान शुरू हुने र बयान सकिए सोही दिन थुनछेक बहस हुने जानकारी दिए ।

सम्बन्धित सामग्री