मंसिर ५, बैतडी । दुई वर्षको पारिश्रमिक नपाएको भन्दै सडकमा काम गर्ने लेन्थवर्करहरुले सडक अवरुद्ध पारेका छन् । आफूहरुले काम गरेको पैसा पाउनु पर्ने माग गर्दै अनशनमा बसेका बैतडीको पाटन पञ्चेश्वर सडकका लेन्थवर्करहरुले सडक अवरुद्ध पारेका हुन् ।
समय समयमा सम्बन्धित निकायलाई पारिश्रमिक पाउनु पर्ने भन्दै जानकारी गराउँदा र अनशनमा समेत बस्दा कसैले सुनुवाई नै नगरेपछि सडक अवरुद्ध गरेका हुन् ।
पाटन पञ्चेश्वर सडकमा कालोपत्रको काम चलिरहेको छ । यसअघि पनि असारको महीना २१ दिन अनशन बसेका लेन्थवर्करलाई तीन महीना ठेकेदार मार्फत् काम दिने र सडक हस्तान्तरण भएपछि त्यहि सडकमा नियुक्ति दिने र रोकेको दुई वर्षको पारिश्रमिक भुक्तानी गर्ने अश्वासन दिएपछि अनशन तोडिएको थियो ।
आश्वासन मध्ये तीन महीना ठेकेदारबाट काम दिएको र अहिले सडक हस्तान्तरण गरिसके पछि न नियुक्ति दिएको नत नपाएको दुई वर्षको पारिश्रमिकको व्यवस्था गरिदिएको लेन्थवर्कर जय राम भुलले बताए ।
आफूहरुका मागका विषयमा सुनुवाई नभएको भन्दै शनिवार बिहानदेखि पाटन–पञ्चेश्वर सडक अवरुद्ध गरेको लेन्थवर्कर जयराम भुलले बताए । ‘मंसिर १ गतेदेखि शान्तिपूर्ण रुपमा अनशन बसेको भएपनि कसैले चासो नदिएपछि सडक अवरुद्ध गरेका हौँ’ उनले भने, ‘हामीले हाम्रो पारिश्रमिक पाउनुपर्छ भन्दै आएका छौं । अहिलेसम्म कसैले पनि हाम्रा मागका बारेमा चासो दिएको छैन ।’
पाटन पञ्चेश्वर सडकमा १२ जना लेन्थवर्कर कार्यरत छन् । केन्द्र मातहत हुँदा समय समयमा तलब पाएको र प्रदेशमा जाँदा मात्रै पारिश्रमिक रोकिएको लेन्थवर्करहरुले बताएका छन् ।