काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रद शेयर भोलि सोमवार अर्थात भदौ ११ गते देखि विक्री खुला हुने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ ।
सोही पूँजीको आधारमा प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । शेयरधनीले उक्त हकप्रद शेयरमा भदौ ३१ गते सम्म आवेदन दिन सक्नेछन् ।
शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्ने ईक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्ला भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ ।