फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ ।
बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य हुनुभएको छ । केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । बुमराङ गाउँमा भेटिनु भएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँड्नुभएको हो । उहाँका दुई शिशु घरमा नै छन् । उहाँका श्रीमान् घरमा तिनलाई कुरेर बस्नुभएको छ ।