वर्षा याम शुरू भएको केही समयमा नै यस पटक पुलहरूमा क्षति पुगेको छ । निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका पुलहरूमा बिग्रँदा झन्डै रू. १ अर्ब बराबरको क्षति भएको छ । यसपटक विश्वभर नै वर्षाको प्रकृति फरक भएकाले बाढी बढी आएको छ र यसले क्षति पनि बढी नै गरेको छ । तर, पनि नेपालमा पुराना पुलहरूको दाँजोमा नयाँ पुलहरूमा बढी क्षति हुने गरेको देखिन्छ । किन नयाँ पुलहरूमा नै बढी क्षति भइरहेको छ त ? यो गम्भीर प्रश्न उठेको छ ।
यसरी पुलहरू छिटोछिटो भत्कने हो भने त्यसको लागत धान्न गाह्रो पर्छ र हाम्रो विकास खर्च निकै महँगो पर्न जान्छ ।
निर्माणाधीन अवस्थामा पुलहरू बढी भत्किएको पाइन्छ । यसो हुनुमा विभिन्न प्राविधिक कारणहरू छन् । निर्माणाधीन पुलहरू बलियो बनिनसक्दै बाढी आउँदा क्षति हुन सक्छ । यसमा कसैलाई दोष दिन मिल्दैन । तर, कमजोर निर्माण सामग्री कमजोर इन्जिनीयरिङ, तथा निर्माण कार्यमा दक्ष जनशक्तिको प्रयोग नहुनुजस्ता कारणले पनि पुल भत्किएका छन् । यसो हुनुको कारण मानवीय कमजोरी हो । यी कमजोरी सुधार्नुपर्ने त छँदै छ, जानाजान गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने अर्को पक्ष पनि स्पष्ट नै छ । तर, निर्माण कम्पनीको लापर्वाही भएकोमा समेत कुनै कारवाही नगरी निर्माणलाई स्वीकृति दिने गरिएको छ । यसले पुल र सडक निर्माणमा लापर्बाही बढिरहेको छ । अन्य मुलुकमा पीच गरिएको सडक वर्षौं नबिग्रनु तर नेपालमा एउटै सडक बिग्रिएर वर्षेनि पीच गरिरहनु यसको उदाहरण हो ।
ठेकेदार कम्पनी र इन्जिनीयरबीच मिलोमतो भएर नै कमसल निर्माण भएको आरोप बारम्बार लाग्ने गरेको छ । तर, यसलाई छानबिनको दायरामा ल्याउने तथा दोषी साबित भए कारवाही गर्ने काम भएको खासै पाइँदैन । पुल निर्माणमा गल्ती गर्ने पप्पु कन्स्ट्रक्सनलगायत केही कम्पनीलाई कालो सूचीमा राख्ने सामान्य काम भने भएको छ ।
नेपालमा सडक, सिँचाइ कुलोजस्ता विकास निर्माण कामहरू हुँदा एकीकृत रूपमा हुने गरेको छैन जसले गर्दा माटो र ढुंगाहरू अव्यवस्थित किसिमले फालिन्छ । त्यस्तै नदीबाट गिटीढुंगा निकाल्ने काम पनि योजनाबद्ध र वैज्ञानिक छैन । पुलको आधार क्षेत्रमा बढी ढुंगा माटो थुप्रिएर असर गरेको पाइन्छ भने कतै नदी भासिएर पुलको जगभन्दा मुनि पुगिसकेको अवस्थासमेत छ । अर्को, नेपालमा भौगोर्भिक बनोट, माटोका परीक्षण आदिको डेटाबेस पाइँदैन । पुल बनाउँदा यी तथ्यांक हेर्न नपाउँदा पुलको आयु आकलन गर्न गाह्रो भइरहेको पनि छ । त्यसमाथि पुल बनाउने ठाउँका बारेमा पर्याप्त अध्ययन भएको हुँदैन । जनप्रतिनिधिको दबाबमा विनाअध्ययन उनीहरूले छानेको ठाउँमा पुल बन्दा पनि समस्या भएको छ ।
कतिपय अवस्थामा सम्बद्ध निकायले निर्माण सामग्री तथा निर्माण कार्यका बारेमा राम्ररी अनुगमन नगर्दा समस्या भएको देखिन्छ । पुल निर्माण गर्दा यसलाई टेको दिने तरिका गलत भएकाले पनि बन्दाबन्दैको पुल बढी भत्किएको पाइन्छ । निर्माण सामग्रीको गुणस्तर कमजोर भएकाले र पर्याप्त मात्रामा तिनको अनुपात नमिलाउनाले पनि पुलहरू कमजोर बनेका छन् । सरकारी अधिकारीले राम्ररी अनुगमन गरेर यस्ता सामग्री तथा तिनको मिश्रण गुणस्तर नभए काममा रोक लगाउनुपर्ने हुन्छ । तर, त्यसो भएको पाइँदैन ।
गलत डिजाइन हुँदा तथा डिजाइनअनुसार प्रविधिको प्रयोग नमिल्दा पनि पुल कमजोर बन्न सक्छ । पछिल्लो समय नयाँ प्रविधिको प्रयोग गरी पुल बनाउन थालिएको सरोकारवालाहरूको भनाइ छ । यसमा पर्याप्त अनुभव छैन जसले गर्दा नयाँ पुलमा बढी क्षति भएको हो । नयाँ पुलमा क्षति बढी पुग्नुको कारणबारे सडक विभाग पक्कै पनि जानकार छ । आवश्यक परे थप अध्ययन अनुसन्धान पनि गराउन आवश्यक छ । अन्यथा यसरी पुल भत्कने हो भने त्यसको लागत धान्न गाह्रो पर्छ र हाम्रो विकास खर्च निकै महँगो पर्न जान्छ ।