अहिले बजारमा नोटको अभाव देखिन्छ । अलि ठूलो मात्रामा नेपाली नोट चाहियो भने बैंकहरूले दिन सक्दैनन् । हुँदाहुँदा अब त भारतीय रुपैयाँको पनि अभाव भएको छ । यसले गर्दा अहिले मानिसहरू बैंकमा पैसा राख्न डराउन थालेका छन् । यो स्थिति बढ्दै गएर समग्र बैंकिङ पद्धतिप्रति नै मानिसहरूको अविश्वास बढ्यो भने के होला ?
नेपालले गर्दो कुल वैदेशिक व्यापारमध्ये ६५ प्रतिशतभन्दा बढी भारतसँग हुन्छ । त्यो व्यापार अहिले पनि घाटामा नै हुने गरेको छ । नेपालबाट वस्तुहरूको निर्यात भएर जुन मात्रामा भारतीय रुपैयाँ आउने छ त्यो भन्दा धेरै गुणा बढी रकम हामीले भारतबाट खरिद गर्दा भुक्तानी गर्छौं । यो अवस्थामा तत्कालै उल्लेखनीय सुधार आउन सक्ने सम्भावना निकै कम छ । त्यो अवस्थामा भारतसँगको व्यापार घाटा कम गर्न सबैभन्दा सरल उपाय भारतीय लागनीकर्तालाई नेपालमा लगानी गर्न निम्त्याउनु हो । भारतीय लगानीकर्ता आउनु भनेको भारतीय रुपैयाँ आपूर्ति नेपालमा बढ्नु हो । डलरको मूल्य भारतीय रुपैयाँ खरिद गर्नुपर्ने बाध्यता अन्त हुनु हो । कुनै पनि देशका लगानीकर्ता विद्युत् उत्पादनको एउटा क्षेत्रबाहेक अरू कुनै पनि क्षेत्रमा अहिले नेपालमा आएर लगानी गर्न सक्ने अवस्था छैन । किनकि कुनै पनि काम गर्न पहिले बिजुली चाहियो । जुन देशमा बिजुली छैन त्यो देशमा अरू उद्योग कसरी सञ्चालन हुन सक्छ । त्यसैले लगानीकर्ता आउने एउटा क्षेत्र भनेको जलविद्युत् हो । त्यसबाहेक अरू कनै पनि क्षेत्रमा विदेशी लगानीको सम्भावना छैन ।
वर्ष ५, अंक २८, २०६६, चैत २–८