काठमाडौं । सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न पेट्रोल पम्पहरूले विद्युतीय माध्यमबाट मात्रै भुक्तानी लिने व्यवस्था मिलाउन नेपाल आयल निगमले आफ्ना डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ । भारतीय सीमा जोडिएको क्षेत्रमा पेट्रोल र डिजेलको सीमा मूल्य अन्तर फराकिलो भएपछि आयल निगमले आफ्ना प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
निगमका उपनिर्देशक विनीतमणि उपाध्यायका अनुसार सीमा क्षेत्रमा भारतभन्दा नेपालतर्फ पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म सस्तो छ, जसकारण सीमानजिक नेपालका पम्पहरूबाट विक्री हुने पेट्रोल, डिजेल तस्करी भई भारत नै जाने गरेको निगमको दाबी छ । पम्पहरूको इन्धन विक्री वितरण पारदर्शी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गर्न लागिएको निगमले बताएको छ ।
भारतीय सीमाबाट २ किलोमिटर नेपालतर्फ रहेका निगमका सबै साधारण पम्प तथा नमूना विक्रेतालाई पेट्रोलियम पदार्थको विक्री वितरण गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था एक महीनाभित्र मिलाउन भनिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै यसबारे प्रगति विवरण एक–एक महीनामा केन्द्रमा पठाउने व्यवस्था मिलाउन पनि निगमले निर्देशन दिएको छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेपछि आयल निगम निरन्तर घाटामा छ । निगमका अनुुसार मुलुकभर करीब १ हजार ६०० ओटा पम्प सञ्चालनमा छन् । तीमध्ये करीब ६० प्रतिशत तराईका जिल्लामा छन् ।