कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउन च्याउ खेतीतर्फ उन्मुख गराइएको छ । नगरपालिकाको कृषि शाखाले महिलालाई च्याउ खेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो । २५ महिला समूह निर्माण गरी च्याउ खेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्य जातको च्याउको बिउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरले बताए ।
‘वडा–२, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउ खेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरेका छौं’, उनले भने, ‘वडा–१२ र ८ मा तालिमसँगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौं । अन्य वडामा तालिम सञ्चालन भइरहेका छन् ।’ तालिम लिएका महिलाले अनिवार्य रूपमा च्याउ खेती गरेको हुनुपर्ने सर्त राखिएको छ ।
विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले महिलालाई तालिमका क्रममा च्याउ खेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लास्टिक टनेल बनाउने, प्लास्टिकका थैलामा च्याउको बिउ राख्ने र बिउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीबारे तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताए । तालिममा सहभागी महिलालाई तीन किलो ५०० ग्रामका दरले च्याउको बिउ, प्लास्टिक टनेल निर्माणका लागि आवश्यक प्लास्टिक र परालको पोकामा बिउ राख्न प्रयोग हुने प्लास्टिकका थैलासमेत अनुदानका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए । रासस