ज्याला वृद्धिमा विवाद

सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक रू. १५ हजार पुर्‍याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार मजदूर दिवसका दिनमा न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गर्नुुभएको थियो । त्यसैअनुसार आगामी साउन १ गतेदेखि लागू गर्नेगरी गरिएको पारिश्रमिक वृद्धिबारे सरोकारवाला पक्षसँग छलफल नगरिएको भनी निजीक्षेत्रले असन्तुष्टि पोखेको छ । देशको अर्थतन्त्र नै समस्यामा परेको बेला निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बेलामा उनीहरू निरुत्साहित हुने गरी ज्याला वृद्धि गरिनु लगानीका दृष्टिले उपयुक्त मान्न सकिँदैन । सामूहिक सौदाबाजीका आधारमा प्रत्येक २/२ वर्षमा श्रमिकको पारिश्रमिक वृद्धि गर्ने व्यवस्था छ । तर, ३ वर्ष भए पनि न्यूनतम पारिश्रमिक वृद्धि भएको छैन । सरकारले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरेर पारिश्रमिक निर्धारण गरेको हो । निजीक्षेत्रसँग छलफल गर्दा सहमति नभएमा ऐनअनुसार सरकारले पारिश्रमिक निर्धारण गर्न सक्ने प्रावधान छ । तर, निजीक्षेत्रले असहमति व्यक्त गर्दागर्दै पारिश्रमिक वृद्धि हुने गरेको भने कमै पाइन्छ । त्यसैले निजीक्षेत्र सरकारको निर्णयबाट असन्तुष्ट बनेको हो । ऐन र महँगीका आधारमा हेर्दा ज्याला वृद्धि आवश्यक नै होला तर त्यसको कार्यान्वयन सरकारले गर्ने होइन, निजीक्षेत्रले हो । कोरोनाका कारण धेरै उद्योग र व्यवसायहरूले आफ्ना कामदारलाई पारिश्रमिक भुक्तान गर्न नसकेको अवस्था छ । कतिपय व्यवसायी त व्यवसायबाट पलायनसमेत भएका छन् । यस्तो बेला निजीक्षेत्रले सरकारबाट राहत र प्रोत्साहनको अपेक्षा गरेको छ । व्यवसायको अवस्था राम्रो नभएकै कारण उनीहरूले सरकारसँग भएको छलफलमा ज्याला वृद्धिमा सहमत हुन नसकेको देखिन्छ । ज्याला वृद्धि कार्यान्वयन गर्ने हो भने यसमा सरकारले निजीक्षेत्रलाई सहयोग गर्नु आवश्यक हुन्छ । सरकारका पछिल्ला चरणका केही भनाइ र निर्णयहरू लोकप्रियताका लागि हुन थालेको देखिन्छ । सत्तारूढ दलभित्रको किचलोका कारण चाँडै नै देशमा निर्वाचन हुन सक्ने परिस्थिति बन्दै गएको अवस्थामा मतदाता रिझाउने नियतका साथ वृद्धभत्ता वृद्धिको घोषणा भएको छ भने ज्याला वृद्धि गरिएको छ । देशको अर्थतन्त्र नै समस्यामा परेको बेला निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बेलामा उनीहरू निरुत्साहित हुने गरी ज्याला वृद्धि गरिनु लगानीका दृष्टिले उपयुक्त मान्न सकिन्न । सरोकारवालाहरूको असहमतिकै बीच गरिएको निर्णयले लगानी विकर्षित हुनुका साथै लगानी विस्तारमा समेत नकारात्मक असर पार्ने देखिन्छ । कामदारले माग गरेको पारिश्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम छ भने रोजगारदाताले धेरै भन्दा धेरै जनशक्तिलाई काम लगाउन सक्छन् । यही कारणले केही देशले न्यूनतम पारिश्रमिकको प्रावधान राख्दैनन् । न्यूनतम पारिश्रमिक तोक्दा श्रमिक वर्गको हितको रक्षा होला । तर, रोजगारदाताको सहमतिविना निर्णय गर्दा त्यसको कार्यान्वयनमा पक्कै समस्या आउँछ । निर्धारित पारिश्रमिक दिन नसके अहिले सुध्रिएको श्रमिक र उद्यमीको सम्बन्ध फेरि द्वन्द्वतर्फ मोडिन सक्छ । संविधानले निजीक्षेत्रलाई अर्थतन्त्रको एउटा खम्बा मानेको छ । सरकारले पनि विकास निर्माणमा निजीक्षेत्रको भूमिका खोजेको छ । निजीक्षेत्रले विकासका लागि विभिन्न कार्यक्रम ल्याएको पनि छ । तर, निजीक्षेत्रसँग सहमति नभई यो निर्णय गर्दा सरकारप्रति उसको विश्वास घट्ने देखिन्छ । विगतमा प्रेस तथा गुठीलगायत धेरै कानून प्रस्ताव गर्दा सरोकारवालासँग छलफल गरिएन जसले गर्दा सरकार पछि हट्नु परेको थियो । यस्ता कामले सरकार नै कमजोर हुन्छ । सरोकारवालासँग छलफल नगरी निर्णय गर्दा नीतिगत स्थिरता नहुन सक्छ । कुनै पनि विषयलाई वस्तुपरक ढंगले हेर्ने र अध्ययन गरेर दूरगामी र दिगो हुने गरी काम गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । सरकारले हचुवाका भरमा धेरैजसो काम गर्ने गरेको पाइन्छ । ज्याला वृद्धि यसैको उदाहरण हो । अहिलेको निर्णयले निजीक्षेत्रलाई नाफामात्र खोज्ने वर्गका रूपमा मात्र हेर्ने सरकारी दृष्टिकोणलाई नै संकेत गर्छ । निजीक्षेत्रको जति नै प्रशंसा गरे पनि सरकार उनीहरूप्रति उदार छैन र उनीहरूका मर्कामा चासो राख्दैन भन्ने कुरा यसले पुष्टि गरेको छ ।

सम्बन्धित सामग्री

नैनीताल जिप दुर्घटना : जो हाम फालेर जोगिए

भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रमा ज्याला मजदुरी गर्ने कामदारबीच सोमबार साँझ अबेरसम्म नयाँ वर्ष मनाउन घरतर्फ हिँड्ने विषयलाई लिएर विवाद भइरहेको थियो– सोमबार जाने कि मंगलबार भनेर । यसैमा एक/दुई जनाले गाडी खोजेर ल्याए र मालसामान राख्न थाले । सबैले लत्ताकपडादेखि भाँडाकुँडासम्म राख्दा रातिको १० बजिसकेको थियो ।

न्यूनतम पारिश्रमिकको विवाद

कामदारको प्रतिमहीना न्यूनतम पारिश्रमिक १५ हजारदेखि १७ हजार रुपैयाँ लागू हुने भएको छ । नेपाल सरकारले राजपत्र जारी गर्दै यही साउन ३२ देखि यो पारिश्रमिक लागू गरेको हो । साथै दैनिक न्यूनतम ज्याला प्रतिदिन ६६८ रुपैयाँ, घण्टाको ज्याला ८९ रुपैयाँ र पार्टटाइम कामदारका लागि न्यूनतम ज्याला ९५ रुपैयाँ हुनेछ । यस्तै सरकारले चिया श्रमिकका लागि छुट्टै न्यूनतम ज्यालादर तोकेको छ । चिया श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ तोकेको छ । दैनिक ज्यजलादारीमा काम गर्ने कामदारले प्रतिदिन ५ सय रुपैयाँ, घण्टाको ज्याला ६६ रुपैयाँ र यसबाहेक, चिया प्रशोधन कारखाना वा चिया कारखानामा काम गर्ने प्रमुख व्यक्ति र सुरक्षाकर्मीलगायत कर्मचारीले कम्तीमा ६३ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।  अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले न्यूनतम पारिश्रमिकलाई ‘रोजगारदाताले तोकिएको अवधिमा गरेको कामका लागि ज्याला कमाउनेहरूलाई भुक्तानी गर्न आवश्यक पर्ने पारिश्रमिकको न्यूनतम रकम, जुन सामूहिक सम्झौता वा व्यक्तिगत सम्झौताबाट घटाउन सकिँदैन’ भनेर परिभाषित गरेको छ । श्रम ऐन २०७४ ले श्रमका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक दिने कुनै पनि संस्था वा व्यक्तिलाई कारोबारमा संलग्न हुनबाट स्पष्ट रूपमा निषेध गरेको छ । आजको प्रतिस्पर्धी बजारमा श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकारले समयसमयमा न्यूनतम पारिश्रमिक परिमार्जन गर्दै आएको छ । यस अभ्यासको उद्देश्य रोजगारदाता वा व्यवस्थापनद्वारा शोषण रोक्नु र श्रमिकहरूलाई मुद्रास्फीतिसँग सामना गर्न मद्दत गर्नु हो । पारिश्रमिक समायोजनले ज्याला मात्र नभई अद्यावधिक गरिएको स्केलअनुसार सामाजिक सुरक्षा योगदान र दशैं भत्ता पनि समेट्छ । नेपाल सरकारले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिक परिमार्जन गर्ने गरेको छ । तर यसरी तोकिएको पारिश्रमिकलाई लिएर विवाद हुने गरेको छ । नेपालको कानूनअनुसार प्रचलित मुद्रास्फीति दरलाई ध्यानमा राखी न्यूनतम पारिश्रमिक निर्धारण गरिन्छ । व्यवहारमा, सरकार, उद्योगी र श्रमिक संघ सम्मिलित त्रिपक्षीय सहमतिबाट पारिश्रमिक निर्धारण गरिन्छ । यो द्विवार्षिक प्रक्रिया प्राय: उद्योगपतिहरू र श्रमिक प्रतिनिधिहरू बीचको टग अफ वार जस्तो देखिन्छ । जसको परिणामस्वरूप साझा सहमतिमा पुग्नुअघि पर्याप्त समय लाग्ने गर्छ । यो वर्ष सरकारले पश्चप्रभावी निर्णय गर्नुपर्ने बाध्यताको सामना गर्नुपरेको छ । सरकारले साउनबाट लागू हुने पारिश्रमिक भदौमा राजपत्रमार्फत सार्वजनिक गरेको हो । यो ढिलाइले विभिन्न संस्थामा प्रभाव पारेको छ, खासगरी आउटसोर्सिङ कम्पनीहरूलाई समस्यामा पार्ने देखिन्छ । यी उद्योगहरूले पहिले नै इनभ्वाइसहरू जारी गरिसकेका थिए, क्लाइन्टबाट भुक्तानीहरू प्राप्त गरिसकेका थिए र उनीहरूको आफ्ना कामदारहरूलाई पारिश्रमिक वितरण गरिसकेका थिए । यस्तामा आफ्ना क्लाइन्टबाट बढेको रकम लिन कठिन देखिन्छ । तर, यी कम्पनी परिमार्जित पारिश्रमिकको आधारमा कामदारलाई तलब दिन बाध्य छन् । यो समायोजनले ज्याला मात्र नभई अद्यावधिक गरिएको स्केलअनुसार सामाजिक सुरक्षा योगदान र दशैं भत्ता पनि समेट्छ । वार्ता रू.२५ हजार प्रतिमहीना भएको थियो । तर, पारिश्रमिक रू.१७ हजार ३०० प्रतिमहीनामा सीमित भयो । मजदूरहरूले रू.२ हजार ३०० वृद्धिमा असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले न्यूनतम पारिश्रमिक बढाइएकोमा विरोध गरेको छ । आर्थिक मन्दी, बढ्दो ब्याजदर, बढ्दो उत्पादन लागतका कारण व्यावसायिक गतिविधिमा कमी आएको उल्लेख गर्दै सीएनआईले बढेको पारिश्रमिक वितरण गर्न नसकिने बताएको छ । यी परिस्थितिले रोजगारदाता नयाँ ज्याला संरचना अपनाउन अनिच्छुक रहेको देखिन्छ । महत्त्वपूर्ण कुरा के हो भने रू.२ हजार ३०० पारिश्रमिक बढाइए पनि लगभग रू.२ हजार ७४६ को वृद्धि भएको हुन्छ । यो रकममा दशैंभत्ता, सामाजिक सुरक्षा, सञ्चय कोष, उपदान, १८ दिनको वार्षिक बिदा र १२ दिनको बिरामी बिदाको खर्च पनि समेटिएको छ । सरकारले न्यूनतम पारिश्रमिकलाई मुद्रास्फीति दरअनुसार कायम राख्न सक्छ । एक निश्चित समयसीमा तोकेर नयाँ न्यूनतम ज्याला योजना र कार्यान्वयन गर्न लगानीकर्तालाई पर्याप्त समय प्रदान गर्नुपर्छ । प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्नु चुनौतीपूर्ण छ । यसका लागि उद्योगी र श्रमिक प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्दा प्रभावकारी हुन सक्छ । यस दृष्टिकोणले श्रम विभागलाई अनुगमनमा मात्र सहयोग गर्दैन, नेपालको यी दुई महत्त्वपूर्ण योगदानकर्ता/सरोकारवालाहरूबीचको सम्बन्धमा सुधार पनि गर्छ । लेखक ग्रुप फोर सेक्युरिटिजका कार्यकारी प्रमुख हुन् ।

हुलास वायरको उद्योग प्रशासन र मजदूरबीचको विवाद सुल्झियो

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डष्ट्रिज प्रालिविरुद्ध मजदूरले ८ दिनअघि शुरू गरेको आन्दोलन दुवै पक्षबीच सहमति भएपछि टुंगिएको छ । विवाद सुल्झिएसँगै बुधवारदेखि उद्योग पूर्ववत् रूपमा सञ्चालन भएको छ । हुलास वायर प्रशासनले निष्कासन गरेका ९३ मजदूरमध्ये ५३ जनालाई जनही ४५ हजार नगद क्षतिपूर्ति दिएर उद्योग पूर्णरूपमा सञ्चालनमा आएको हो । उनीहरूलाई पुनः काममा फर्काउने सहमति भएको छ । अन्य ४० जनालाई भने उद्योगले काममा फर्काइसकेको छ । निष्कासित मजदूरलाई स्थायी नियुक्ति, श्रम ऐन अनुसारको ज्याला र सामाजिक सुरक्षा कोषको समेत सुविधा दिने सहमति भएपछि आन्दोलन फिर्ता गरिएको नेपाल कारखाना श्रमिक संघ इकाइ उपाध्यक्ष सुरेश माझीले बताए । ‘लामो समय हड्ताल गर्दा कामविहीन बनेका ७५० स्थायी मजदूर समेत समस्यामा पर्ने भएकाले उद्योग र मजदूर दुवैको हितमा सहमति गरेका छौं,’ उनले भने । अहिले क्षतिपूर्ति लिएर घर बस्ने मजदूरलाई उद्योग तीनओटै सिफ्टमा चल्न थालेपछि प्राथमिकतामा राखेर रोजगारी दिने सहमति भएको उनको भनाइ छ । हुलास वायरमा यसअघि यति लामो समय मजदूर हड्ताल यस अघि भएको थिएन । उद्योगका संस्थापक स्व. महेन्द्र गोल्छा आफै पनि मजदूरप्रिय सञ्चालकको रूपमा चिनिएका थिए । गोल्छा अर्गनाइजेशनका कुनै पनि उद्योगमा हुने मजदूर हड्तालमा उनी आफैंले डिल गर्थे र एक दिनमै समस्याको समाधान निकाल्थे । गोल्छाको निधनपछि उनकी श्रीमती राज्यलक्ष्मी गोल्छाले उक्त उद्योग हेर्दै आएकी छन् । गत साताको बुधवार प्रशासनले कुनै पूर्वसूचनाविना ९३ जना मजदूरलाई निष्कासन गरेपछि पुनर्बहालीको माग गर्दै मजदूर उद्योगको गेटमा पाल टाँगेर धर्नामा बसेका थिए । धर्नाको कारण उद्योगको उत्पादन ठप्प भएको थियो । उद्योग प्रशासन र मजदूर नेताहरूबीचमा पटक पटक वार्ता भए पनि सहमति हुन सकेको थिएन । उद्योगको मूलगेटमा पाल टाँगेर मजदूर आन्दोलनमा बसेपछि उद्योगभित्र आउजाउ नै बन्द भएको थियो । नियुक्तिपत्र र कानून अनुसार सेवा सुविधा दिइनुपर्ने माग राखेर मजदूरले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका थिए । १५ वर्षदेखि कार्यरत मजदूरलाई उद्योगले नियुक्तिपत्र र न्यूनतम सेवा सुविधा समेत नदिएको भन्दै मजदूरले उद्योग प्रशासनसमक्ष एक वर्षअघि पनि माग पेश गरेका थिए । त्यतिबेला उद्योग प्रशासनले नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक दिने सहमति गरेको थियो । मजदूरको उजुरी परेसँगै उद्योगमाथि श्रम तथा रोजगार कार्यालयले कारबाही अघि बढाउने तयारी गर्दै गर्दा २०७७ असार २१ गते मजदूरलाई न्यूनतम पारिश्रमिक र नियुक्तिपत्र दिने सहमति उद्योगले गरेको थियो । तर सहमति पालना नगरीकन उल्टै मजदूरलाई निष्कासन गरेपछि उद्योग तनावपूर्ण बनेको थियो ।