अछाम । अछामको मङ्गलसेन नगरपालिका–५ स्थित सोडषा उच्च माविको प्राङ्गणमा पारिलो घाममा बसेर अध्ययन गर्दै विद्यार्थी । जाडो बढेकाले विद्यार्थीलाई चौरमा राखेर पढाइएको हो । तस्बिरः विष्णु कल्पित÷रासस
कर्णाली नदीको किनारमा रहेको सर्केगाड गाउँपालिका–२ र ३ को लिप्नेमा सञ्चालन हुँदै आएको लालीगुराँस माध्यमिक विद्यालयका विद्यार्थी खेतमा बसेर पढ्दै आएका छन् । विद्यालयको कक्षाकोठामा घाम नलागेर चिसो बढ्ने भएपछि विद्यार्थी खेतमा बसेर पढ्नु परेको हो । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा फडेराले चिसोका कारण कक्षामा बसेर अध्ययन गर्न कठिन हुन थालेपछि खेतमै घामको पारिलो तापसँगै पढ्नु परेको बताउनुभयो । कर्णाली नदीको किनारमा विद्यालय रहेका कारण कक्षाकोठामा चिसो बढी हुने भएकाले विद्यालयले नै खेतमा पढाउने व्यवस्था गरेको उहाँले जनाउनुभयो । विद्यालयमा दैनिक दुई घण्टा मात्र घाम लाग्ने गर्छ ।
२०७२ वैशाखको भूकम्पले विद्यालय भवन क्षतविक्षत बनाएपछि विद्यार्थी घाम, पानी र सिरेटो सहँदै टहरामा पढ्दै आएका थिए । त्यही टहरा पनि पर्याप्त नहुँदा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता थियो ।