ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङमा याकको संख्या बढेको छ । हिमाली क्षेत्रका बासिन्दाले पुख्र्यौली पेशाका रूपमा याकपालन गर्दै आएका छन् । पछिल्लो २ वर्षदेखि कोरोनाका कारण चीनतर्फ याक निर्यात नहुँदा यसको संख्यामा वृद्धि भएको बताइएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ याङ्माका कान्दे ग्याबु शेर्पासँग २ वर्ष अगाडि ३२ याक थिए, अहिले ६४ छन् । ‘२ वर्ष भयो, याक विक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ,’ उनले भने ।
समुद्री सतहदेखि ३ हजर ५०० मिटर उचाइदेखि ५ हजारसम्मको उचाइमा याक र डीको चरन क्षेत्र मानिन्छ । याक विगतदेखि नै चीनका भिन्न बजारमा बिक्री हँुदै आएको याङ्माका स्थानीय टाँसी फिन्जो शेर्पाले बताए ।
कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङमा ४००, ओलाचुङगोला ४३५ र घुन्सा ३६ गरी ८७१ याकको बीमा गरिएको छ । परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बीमालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए । चीनका विभिन्न विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौरीबाट उत्पादित छुर्पी, घ्यू लगायत वस्तु विक्री हुने गरेको याङ्माका स्थानीयवासी सोनाम शेर्पाले बताए । चीनका बजारमा प्रतियाक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्ममा विक्री हुने गरेको स्यानीयवासीको भनाइ छ । यस्तै छुर्पी र घ्यू प्रतिकिलो १ हजार २०० मा विक्री हुने गरेको बताइएको छ ।
कोरोनाका कारणले २ वर्षयता टिप्ताला र किमाथाङ्का नाका बन्द हुँदा याक विक्री नभएको मिक्वाखोला गाउँपालिका–५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताए ।
मिक्वाखोला–५ तोक्पेगोला क्षेत्रमा रहेको याक चौरी लायक पशुजन्य वस्तु किमाथांका नाका हुँदै चीका विभिन्न बजारमा विक्री हुने गरेको उनको भनाइ छ । तोक्पेकोला क्षेत्रमा ३५ चौरी याकका गोठ रहेको मिक्वाखोला–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताए ।
जिल्लाका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सात पालिकामा चौरी याकपालन हुँदै आएको छ । उचित मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याकपालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ–६ घुन्साका स्थानीयवासी पेमा शेर्पाले बताइन् । हिमाली क्षेत्रमा याक संख्यामा वृद्धि हुँदै गएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । रासस