कास्की । गण्डकी प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाले बिजनेश नपाएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको सिफारिशमा बिहीवार अधिवेशनको अन्त्य भएको घोषणा गरेका हुन् ।
बुधवार प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरे पनि सरकारको सिफारिशमा बिहीवार चालू अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा उल्लेख छ ।
गण्डकीको प्रदेशसभाबाट चालू अधिवेशनमा चार विधेयक र दुई अध्यादेश पारित भएका छन् । यस अधिवेशनमा १६ ओटा बैठक बसेका छन् । प्रदेशसभाले विनियोजन ऐेन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । त्यस्तै गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत पारित भएका छन् ।