पश्चिमी देशहरुले लगाए रुसी तेल र ग्याँसमा प्रतिबन्ध  के होला यसको असर ?

फागुन २५, काठमाडौं। अमेरिका र बेलायतले रुसी तेल र ग्यासमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।  बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसी तेल र तेलजन्य उत्पादनको आयात बन्द गर्ने बताएको छ । यूरोपेली संघ (ईयू)ले पनि सन् २०३० सम्ममा रुसको जैविक इन्धनमाथिको आफ्नो निर्भरता निर्मूल पार्ने योजना बनाएको छ । यसको शुरुआत ग्यासबाट गरिनेछ । यसै वर्ष रुसी ग्यासमाथिको निर्भरता दुई तिहाई कम गर्ने योजना ईयूले सार्वजनिक गरेको छ । रुसी अर्थतन्त्रको मुख्य धमनीमा प्रहार गर्न यस्तो कदम चाल्न लागिएको बुधबार अमेरिकी राष्ट्रपती जो बाइडेनले बताएका छन् ।  रुसको आम्दानीको मुख्य स्रोत इन्धन निर्यात हो । युक्रेनमाथि रुसी हमलाको प्रतिकारमा उमाथि लगाइएको आर्थिक प्रतिबन्ध कसिलो बनाउने क्रममा रुसी तेल र ग्यासमा प्रतिबन्ध लगाउन लागिएको हो । तर यस कदमले रुसलाई त असर पार्छ नै यूरोपेली उपभोक्ताहरु पनि मारमा पर्नेछन् । द्वन्द्वको प्रभावका कारण अहिले अमेरिका र बेलायतमा पेट्रोलको भाउ कीर्तिमानी स्तरमा उक्लिसकेको छ । जापानलगायत अन्य बजारहरुमा पनि भाउ कयौं वर्षयताकै उच्च स्तरमा छन् ।  रुसी तेलमाथि पश्चिमी देशहरुले प्रतिबन्ध लगाएमा विश्व बजारमा विनाशकारी परिणामहरु उत्पन्न हुने चेतावनी मंगलबार रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले दिएका थिए । रुस युक्रेनबीचको तनावबीच पछिल्लो समय तेलको भाउ सन् २००८ यताकै उच्च स्तरमा छ । तेलको भाउमा भएको वृद्धिले चीन, इन्डोनेशिया, दक्षिण अफ्रिका र टर्की जस्ता ठूला तेल आयातकर्ता देशहरुको आर्थिक वृद्धिदर एक प्रतिशत अंकले घट्न सक्ने र विश्वको आर्थिक वृद्धिदरमा कमी आउन सक्ने विश्व बैंकका अधिकारीले चेतावनी दिएका छन् । कोरोना भाइरसको महामारीको प्रभावबाट पुनःबहाल भइरहेका र कर्जा देखि मँहगीसम्मका अनेकौं अनिश्चयसँग संघर्ष गरिरहेका उदीयमान अर्थतन्त्रलाई युद्धले अर्को झट्का दिने बताइएको छ ।  गएको एक महीनामा तेलको भाउ दोब्बर भन्दा धेरैले बढिसकेको छ । रुसी तेलमाथि प्रतिबन्धको घोषणासँगै बुधबार अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको भाउ झन्डै ३ प्रतिशतले बढेर प्रतिब्यारेल १३० डलरमाथि उक्लिएका छ । युक्रेनी संकटका कारण विश्वले अहिलेसम्मकै ठूलो आपूर्ति झट्का बेहोर्न सक्ने चेतावनी गोल्डम्यान श्याख्सले दिएको छ । ब्रेन्ट क्रुडको भाउको प्रक्षेपण गोल्डम्यानले बढाएर ९८ डलरबाट १३५ डलरमा पुर्याएको छ ।  बार्कलेजले पनि अवस्था खराब भन्दा पनि खराब हुँदै भयो भने तेलको भाउ २०० डलर नाघ्न सक्ने बताएको छ । तर बार्कलेजले यस वर्षको ब्रेन्ट क्रुडको मूल्य प्रक्षेपण भने संसोधन गरेको छैन । विश्व बजारमा तेलको भाउ बढेसँगै हालैका  दिनमा नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढेर यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । विश्व बजारमा कच्चा तेलको भाउमा हुने थप वृद्धिले नेपाली उपभोक्ताहरु झनै मारमा पर्नेछन् । एजेन्सीको सहयोगमा 

सम्बन्धित सामग्री

रुसले ग्यास दिन बन्द गर्यो  भने यूरोपमा कस्तो असर पुग्छ ?

अमेरिकाले रुसबाट आयात तेल र ग्यासमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि अब रुसी तेल खरिद गर्न बन्द गर्ने बताएको छ भने युरोपियन युनियनले आयात घटाउने निर्णय गरेको छ । यता तेल व्यापारमा प्रतिबन्ध लगाएमा रुसले यूरोपेली मुलुकहरूलाई ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।युक्रेनले कठोर प्रतिबन्धको माग उठाएपछि अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतले पनि यस वर्षको अन्त्यसम्ममा रुसी तेल प्रयोग नगर्ने हुने निर्णय गरेको छ । अनि यु

रुसमाथि बेलायत र अमेरिकाले लगाए ग्यासमा प्रतिबन्ध

काठमाडौं : युक्रेनमाथि आक्रमण जारी राखेको विरोधमा रुसविरुद्ध चौतर्फी घेराबन्दी तिब्र पारिएको छ।अमेरिका र बेलायतले रुसको तेल तथा ग्यासमा प्रतिबन्धको घोषणा गरेका छन्। युरोपेली संघले पनि इन्धनको परनिर्भरता घटाउने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई नै प्रहार गर्ने बताए। रुसको आम्दानीको महत्वपूर्ण स्रोत इन्धन निर्यात नै हो। यो निर्णयले आफ्ना नागरिकलाई असर पर्न सक्ने भन्दै पश्चिमा देशहरुले भने इन्धन आयातको विकल्प खोज्न थालेका छन्। यहीबीचमा भेने

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट