पिउने पानीको अभाव खेपिरहेका सिन्धुलीको सुनकोसी गाउँपालिकाका ४५ गाउँबस्तीका करिब दुई हजार पाँच सय घरमा सुनकोसीको पानी पु¥याउने लक्ष्यसहित खानेपानी परियोजना अगाडि बढाइएको छ ।
सो परियोजना सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सञ्चालन गरिने छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मन्थलीका प्रमुख राजेन्द्र सापकोटाका अनुसार परियोजनाको अन्तिम लागत अनुमान तयार भई विभागमा पेस गरिएको छ ।
दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सम्भवतः मङ्सिरसम्ममा परियोजनाको टेन्डर प्रक्रिया सुरु हुने प्रमुख सापकोटाले जानकारी दिनुभयो । निर्माण सम्पन्नपछि एक वर्षसम्म परियोजनाको सञ्चालन, मर्मत निर्माण कम्पनीले नै गर्नेछ । सङ्घीय सरकारको करिब ४९ करोड लगानीमा निर्माण गरिने सो परियोजनाबाट सुनकोसी गाउँपालिका वडा नम्बर ५ र ६ का दुई हजार ४८० घरमा धारा जडान गरिने प्रमुख सापकोटाले बताउनुभयो । खानेपानी परियोजनामा स्थानीय जनश्रम व्यवस्थापन र सहयोगका लागि नागेडाँडा लिफ्ट खानेपानी उपभोक्ता समूूह गठन गरिएको छ ।