चैत ८, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन बुधवारसम्म रहेको छ ।
उक्त बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ६ लाख ६ हजार १४० कित्ता शेयर फागुन ५ गते देखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक ती दुबै कम्पनीका विद्यमान संस्थापक शेयरधनीले बुधवार कार्यालय समयभित्र बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालमा काठमाडौंमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.५४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिने छ ।
त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. ६०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यस कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण शेयर सख्याको लागि आवेदन दिन सकिने छ। विक्री प्रबन्धकमाा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।